Wednesday, March 4, 2015

२० वर्षकै ठुलो हिउँले गएको हिउँपहिरोले हुम्ला कर्णाली रोकीयो


नवराज महतारा,
फागुन १९ । हुम्ला । पछिल्ला २० वर्षकै सबैभन्दा ठूलो हिमपातका कारण लिमि गाविसको जाङ्गको ढुङ्गा फुटाल्नेमा हिजो सोमबार गएको हिउँ पहिरोका कारण हुम्ला कर्णालीको ८० प्रतिशत पानी रोकिएको छ ।
 सदरमुकाम सिमकोट देखि ५३ कोषमा रहेको उक्त स्थानमा अचानक आएको हिमपहिरोले नदी थुनिएपछि कणालीको पानी सुकेको प्रत्यक्षदर्शी लिमि जाङ्गका पञ्जोकपेम्बा लामाले बताए । उनका अनुशार गएको ६ दिन देखि लगातार परेको हिउँ गएका २० वर्ष यताकै सबैभन्दा ठूलो भएकाले यो अवस्था आएको हो । जाङ्गबाट टेलिफोनमा जानकारी गराएका लामाले भने “सोमबार अपरान्ह लिमिको ढुङ्गा फुटाल्नेमा अचानक ठूलो आवाज आएको थियो । त्यसको केही समयमै लिंक खोला र टाक्ची खोला मिसिएिर लिमि हुँदै बग्ने नदीको पानी एकाएक घटेर आयो, जसको असर सिंगो कर्णालीमा परेको हो ।” हिउँपहिरो गएको ठाउँलाई प्रत्यक्ष नदेखेका लामाले नदी कसरी रोकिएको छ भन्ने बारेमा आफू अनविज्ञ भएपनि बगेर जाने नदीको मात्रामा अनपेक्षित कमी आएको बताए । उनका अनुशार अहिले हिउपहिरो गएको स्थानमा ९ फिट हिउँ जमेको छ भने भारी हिमपातले घरभन्दा बाहिर निस्कन सक्ने अवस्था छैन ।
    चिनको ताक्लाकोट भएर बग्ने हुम्ला कर्णालीमा लिमिबाट बग्ने लिंक खोला, टाक्ची खोला, तिल खोला र हल्जी खोला मिसिने तिलचुङ्गमा आइपुग्दा लिमि भएर बग्ने खोलाको पानीको बहाव ९० प्रतिशतले घटेको मुचु प्रहरी चौकीका निमित्त प्रमूख हवल्दार लक्ष्मण सेनले बताए । उता चिनका ताक्लाकोट सेरीका स्थानीय वासिन्दा कुङ्गापासाङ्ग लामाका अनुशार मानसारेवरको राक्षस ताल नजिकैबाट बग्ने नदी ताक्लाकोट सम्म सामान्य नै भएर बगेको छ । अहिले पनि भारी हिउँ परिरहेको ताक्लाकोटमा १० फिट हिउँ जमेको ताक्लाकोटमा भएका लामाले चिनियाँ नम्बरबाट फोनमा बतउँदै घरबाट बाहिर निस्कन नकेकाले त्यसभन्दा तलको अवस्थाका बारेमा केही भन्न नसकीने जनाए ।

सरकारका आ–आफ्नै अनुमान
 प्रति सेकेण्ड १ हजार ३ सय ६५ क्युसेक पानी बहाव भएको हुम्ला कर्णालीको पानी हिमपहिरोका कारण हिजो सोमबार अपरान्ह देखि लगातार ८० प्रतिशत पानी रोकीएको प्रति नेपाल सरकारका सबै निकायले आ–आप्mनै अनुमान लगाएका छन् । घटनाका बारेमा आज बिहानै देखि खोजविन गरेको हुम्ला प्रशासको समन्वयमा आज सिमकोटमा बसेको अनौपचारिक वैठकले हिउँदको समयमा अत्याधिक परेको हिमपातका कारण हिमनदीमा हिउँ जमेर कर्णालीको बहाव कम भएको प्रारम्भीक अनुमान लगाएको सहायक प्रमूख जिल्ला अधिकारी बमबहादुर केसीले बताए ।  भारी हिमपातका कारण मुचु भन्दा माथि सुरक्षा संयन्त्र नभएको बताएका अधिकारी केसीले मुचु प्रहरी चौकीलाई उदृत गर्दै लिमि भएर बग्ने खोलामा हिउँ जमेका कारण नदीको पानी कम भएको हुनसक्ने अनुमान गरेका छन्  । कर्णालीको पानी अचानक अप्रत्यासित घट्नुको कारणबारे बिहानै देखि खोजवीनमा लागेको प्रहरी प्रशासनले समेत लिमि भएर बग्ने लिंक खोला र टाक्ची खोलामै केही समस्या हुनसक्ने ठोकुवा गरेको छ । हिमपातले जिल्लाको उत्तरी भेगमा पर्ने सबै प्रहरी चौकी मुचुमा सारिएको र मुचुमा मात्रै ८ फिट हिउँ जमेका कारण त्यसभन्दा माथि प्रहरी जान नसकेको मुचु प्रहरी चौकीलाई उदृत गर्दै प्रहरी नायव उपरिक्षक कृष्णबहादुर कुँवरले जानकारी दिए । २ दिन सम्म नदी सुकेको बारेमा आज बिहान १० बजे देखि चासो राखेको गृहमन्त्रालयको विपत व्यवास्थापन महाशाखाले समेत घटनाका बारेमा इसिमोड, जल तथा मौशम पूर्वानुमान महाशाखासँग समन्वय गरेको बताए पनि हुम्ला प्रशासनकै खबर बाहेक नयाँ तत्थ्य पत्ता लगाउन विपल भएको छ । मन्त्रालयसँग अवस्थाका बारेमा प्रत्यक्ष जानकारी लिने नयाँ प्रविधि नभएकाले इसिमोडलाई स्याटलाइटबाट अवस्था पत्ता लगाउन आग्रह गरेको भएपनि भारी हिमपात र वादल लागेका कारण कुनै अवस्था पत्ता लगाउन नसकिएको महाशाखाका रामेश्वर गौतमले बताए । उनका अनुशार नदीबाट हुन सक्ने संभावित असरका बारेमा कर्णाली आसपासका क्षेत्रमा अलर्ट रहन प्रहरी प्रशासन मार्फत खबर गरिएको छ । हुम्ला, मुगु, बाजुरा, कालिकोट हुँदैं बर्दिया सम्म हुन सक्ने संभावित असरलाई मध्यनजर राखेर स्थानीयप वासिन्दालाई कर्णाली आसपास नबस्न खबर गरिसकेको गृह मन्त्रालयको विपत व्यवास्थापन महाशाखाले दावी गरेको छ । 

उता मध्यपश्चिमको जल तथा मौशमलाई नियमित अनुगमन गरिरहेको सरकारी संयन्त्र जल तथा मौशम पूर्वानुमान क्षेत्रिय कार्यालय सुर्खेतले समेत घटनाका बारेमा अनविज्ञता प्रकट गरेको छ । हुम्ला कर्णालीको पानीको बहावका बारेमा खासै तत्थ्यांक नभएकाले पनि हिमपहिरोले कती पानी जम्मा भएको छ भन्ने एकिन गर्न नसकिने कार्यालयका गोविन्द झाले बताए । यदी हुम्ला कर्णालीको नदी हिमपहिरोका कारण हिजो देखि नै रोकिएको हो भने त्यसले ठूलो असर पार्ने बताएका झाले हुम्ला कर्णालीको आजको बहावलाई एकिन गरेरै भन्न नसकिने तर्क गरे ।
बर्दियासम्म त्रास
कर्णाली नदीको मुख्य नदी हुम्ला कर्णालीको पानी एकाएक रोकिएपछि  कर्णाीको बहाव क्षेत्रका वासिन्दालाई त्रसित बनाएको छ । आज बिहानै अहिले सम्मकै कम पानी कर्णालीमा बगेपछि हुम्ला, मुगु बाजुरा, कालिकोट देखि बर्दियाका जिल्लाका स्थानीय वासिन्दाले चिन्ता व्यक्त गरेका छन् । लगभग २ दिन देखि रोकिएको कर्णालीको पानी एकै पटक बगेर आएमा त्यसबाट पुग्ने क्षति प्रती त्रसित भएका कर्णाली नदीको प्रभाव क्षेत्रका वासिन्दालाई स्थानीय प्रशासनले समेत सचेत रहन आग्रह गरेको छ । आज बिहानै कर्णालीको बहावमा अपत्यारलो तरिकाले कमी आएपछि स्थानीय सञ्चार माध्यम र सुरक्षा निकायलाई परिचालन गरेर कर्णाली नदी आसपासमा नरहन सचेत गराएको कालिकोट जिल्लाका सहायक प्रमूख जिल्ला अधिकार मिमबहादुर शाहीले बताए । उता मुगु जिल्लाकोे प्रहरी प्रशासनले समेत हुम्ला कर्णालीको आसपासमा वसोवास गर्ने वासिन्दलाई हाई अलर्टमा रहन प्रहरी चौकी परिचालन गरेको छ । बाजुरा जिल्लाले समेत गृह मन्त्रलयको निर्देशनमा स्थानीय वासिन्दालाई कर्णालीको किनार छोडेर  बस्न सूचना जारी गरेको कोल्टी प्रहरी चौकीका हवल्दार मनवीर फडेराले जानकारी दिए । कर्णाली थुनिएको ठरले बर्दिया जिल्ला सम्म समेत ञास फैलिएको छ ।

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...