Monday, April 20, 2015

उपेक्षित कर्णालीको राष्ट्रलाई उपहार: जंगली चौंरी गाई


राजु आचार्य

सन्दर्भ: वन्यजन्तु सप्ताह
नेपालमा खिचिएको जङ्गली चौंरी गाईको एक मात्र फोटो (फोटो: जिरालदिन वेरहान) 

कर्णाली भन्ने वित्तिकै हामी विकासको दृष्टिकोणले सबैभन्दा उपेक्षित र भौगोलिक रूपले अत्यन्त विकट नेपालको सुदूर पश्चिम हिमाली क्षेत्रको परिदृश्य हाम्रो मानसपटलमा आउँछ। तर कर्णालीले त्यही उपेक्षा र विकटताका बिच राष्ट्रका लागि वन्यजन्तुको अनमोल सम्पदा जोगाएर राखेको रहेछ।
यही अनमोल सम्पदाको एक पक्षलाई उजागर गर्न हाम्रो टोलि सफल भएको छ-नेपालमा पहिलो पटक जंगली चौंरी गाई भेटेर। वन्यजन्तु सप्ताहको सन्दर्भ पारेर सोमबार राजधानीमा भएको एक कार्यक्रम बिच नेपालमा जंगली चौंरीगाई भेटिएको आधिकारिक घोषणा समेत भएको छ।
कर्णालीमा जंगली चौरी गाई खोजीको प्रयास निकै दुस्साहसपूर्ण थियो । ज्यान जोखिममा पार्दै पटक पटक प्रयास गरेपछि हामी यो खोजमा सफल भएका थियौं।
उच्च हिमाली भेगमा भएका थुप्रै अनुसन्धानहरुमा जंगली चौरी गाई नभेटिएपछि यो जनावर नेपालबाट लोप भैसकेको निष्कर्ष निकालेर एक राष्ट्रियस्तरको सम्मेलनमा जंगली चौंरी गाईलाई नेपालबाट लोप भैसकेका वन्यजन्तुको सूचिमा राख्न खोजिएको थियो। तर, हामी मानेका थिएनौँ। राम्रोसँग नखोजी, यथेस्ट अध्ययन नै नगरी कसरी लोप भएको भन्न मिल्छ भन्ने थियो हाम्रो भनाई।
 त्यसैले पनि हामी ज्यान फालेर भए पनि जङ्गली चौरीँ गाई खोजेरै छाड्ने अभियानमा थियौं।
हुम्लाको विकट क्षेत्र लिमीमा वन्यजन्तु अनुसन्धानका लागि कोहि पनि आएका थिएनन्। कोहि नगएको क्षेत्रमा जाँदा नै नौला र दुर्लभ वन्यजन्तु भेटिने आशाले यो क्षेत्र हाम्रो छनोटमा परेको थियो। २०७० को जेठ-असारमा हुम्लाको सदरमुकाम सिमीकोटबाट ८ दिनको पैदल दुरीमा रहेको लिमि उपत्यका पुग्यौं। टोलीमा म, यादव घिमिरे, नरेश कुसी, विधान अधिकारी, विनोद कुँवर र स्थानीय पासाङ दाई थियौं । त्यहाँ हामीले ४ हजार ९०० मीटरको उचाइको च्याक्पालुङ्गमा क्याम्प गरेर जङ्गली चौरीँ गाईको खोजीमा जुट्यौं। यसरि ५ वर्षदेखि देखेको सपना साकार हुँदै गएकोमा हामी दङ्ग थियौं।
हप्तौं ५,००० मिटर माथिका हिमाली खर्कहरुमा जंगली जनावर खोज्नु सहज काम भने थिएन। त्यसमाथि बेमौसममा नै अत्यधिक हिँउ पर्नाले अनुसन्धान टोली ५ दिनसम्म क्याम्पमा नै कैदी जस्तो थुनिएर बस्नु परेको थियो। फिल्डमा जाँदा हिउँ परेकोले क्याम्पमा फर्कदाको ५ घण्टा कालसँगै हिँडेजस्तो भएको थियो । हिमपातले क्याम्पमा नै थुनिएपछी गाउँसँगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद भयो। अत्यधिक हिमपातले गर्दा गाउँलेहरुले चाहेर पनि हामीहरुलाई खोज्न आउन सकेनछन् । पछि थाहा भो गाउँलेले हाम्रो ज्यान जोगियोस् भनेर दुई पटक सम्म गुम्बामा पूजा गरेछन्।

हिउँ पर्न रोकिए पछी हाम्रो खोज फेरि सुरू भयो। ठूला अनि चिसा खोलाहरु दैनिक तर्दा कायल बनाएको थियो। दैनिक २० देखि ४० किलोमिटरको हिडाईले शरीर गलाएको थियो। हामीहरू पालै पालो बिरामी परिरहेका थियौं। तर प्रत्येक बिहान जङ्गली चौरीँगाई भेटिने लालसाले गर्दा थकाईले बिट मारीसकेको हुन्थ्यो।
हाम्रो टोलीले ५८ दिन खोज्दा पनि जिउँदो जङ्गली चौरीँगाई भेट्न सकेन। भेटियो त केवल पाइला, अनि मरेको जंगली चौंरी गाईको छाला र सिङ् मात्र। लगभग २ महिना हुन लागेकोले काठमाडौंदेखि लगेको खर्चपानी पनि सकिएको थियो । तसर्थ, जिउँदो चौंरी गाई भेट्ने चाहना भने चाहनामै सिमित राख्दै हामी हतास मनस्थिति लिएर काठमाडौं फर्कियौं।
तर, हाम्रो प्रयास अर्को वर्ष पनि जारी रह्यो। टोलीमा थपीए स्वीजरल्याण्ड निवासी संरक्षणकर्मी जिरालदिन वेरहान। यो वर्ष भने खोजेको वन्यजन्तु जङ्गली चौंरी गाई लगायत अन्य थुप्रै वन्यजन्तुहरु भेटिए।
लिमी उपत्यकालाई लुकेको उपत्यका पनि भनिन्छ। हाल्जी, जाङ र तील गाउँका करिब १८० घरधुरी यो क्षेत्रमा बस्दै आएका छन्। बौद्ध धर्मका अनुयायीहरु बस्ने यो क्षेत्रमा बहुपती प्रथा कायमै छ। लिमी, ङिन, साक्य खोलाले यो क्षेत्रमा सौन्दर्यता थपेको छ। ठूला ठूला समथर भाग र त्यसमाथि तालतलैयाले यो क्षेत्रको शोभा बढाएका छन्। वर्षमा ६ महिना यो क्षेत्रका मानिसहरुको बाहिरी संसारसँग सम्बन्ध बिच्छेद नै हुन्छ। बिरामी पर्दा यहाँका मानिसहरू चीनको ताक्लाकोट पुग्छन्। सरसामान पनि उतैबाट ल्याउँछन्। अन्न काटेपछि ताक्लाकोटमा रोजगारीका लागि जाँदा गाउँ नै शून्य हुन्छ।
फाट्टफुट्ट आउने पर्यटकले यो क्षेत्रमा आशाको किरण जगाएको छ। नेपाल ट्रष्ट जस्ता संस्थाको कारणले विकासले बिस्तारै गति लिँदैंछ।
दुर्गम भए पनि यो क्षेत्रमा विश्वकै दुर्लभ वन्यजन्तुहरु पाउने भएकाले वन्यजन्तुका मामिलामा स्वर्ग भन्दा फरक नपर्ला। 
नेपालमा हालसम्म जङ्गली चौंरी गाई पाईने यो एक मात्र ठाउँ हो । यसका साथै यहाँ जङ्गली गधाको सबैभन्दा ठूलो ५७१ को बथान पनि गणना गरिएको छ । संसारको सबैभन्दा ठूलो जङ्गली भेडा (नायन) पनि यहाँ भेटिएको छ। यसका अलावा घोवा, हिँउ चितुवा, पाहन बिरालो, नाउर, फ्याउ मुसा, हिमाली भालु, हिमाली रातो भालु र कस्तुरी मृग समेतको अभिलेख गरिएको छ । नेपालमा यो मात्र यस्तो स्थान हो जहाँ ब्वाँसो भेटिने सम्भावना लगभग शत प्रतिशत नै छ।
यो क्षेत्र चराहरुको दृष्टिकोणले समेत निकै महत्वपूर्ण छ। यस क्षेत्रबाट नेपालमा पहिलो पल्ट स्थायी बसोबास गर्ने मणितुण्डक, कालीकण्ठे सारस, मँगोल राजपुत्रिका, कालीकण्ठे चाँचर, वायु फ्यालफ्याले र खैरो टाउके गंगाचिल नामक चराहरु अभिलेख गरिएका छन्। यहाँ ६ प्रजातीका चराहरु नेपालमा अहिलेसम्मकै अग्लो ठाउँमा भेटिएका थिए भने १६ प्रजातीका चराहरु नेपालको पश्चिम भेगबाट पहिलो पल्ट अभिलेख गरिएका थियो।
यसको महत्वलाई बुझेर विश्वविख्यात् चराविद् क्यारोल इनस्किप तथा नेपाल पंक्षी संरक्षण संघले यो क्षेत्रलाई ‘महत्पूर्ण चरा क्षेत्र’मा सुचिकृत गर्न लागेका छन्।
बिकट र पिछडिएको भएता पनि यो क्षेत्रको वन्यजन्तु लगायतको जैविक सम्पदाले स्थानीय मात्र नभई क्षेत्रीय र राष्ट्रिय रुपमा समेत आय आर्जनमा उल्लेख्य टेवा पुर्याउन सक्ने कुरा निर्विवाद छ, तर तेस्को लागि खाँचो छ सरकारी प्रतिवद्दता र उचित कार्यक्रमको । तत्कालका लागि लिमी गाविसलाई संरक्षण क्षेत्र घोषणा गरेर पर्यापर्यटनको माध्यमबाट स्थानीयको आयआर्जन बढाउने तर्फ लाग्ने हो भने यो विश्वकै उत्कृष्ट संरक्षण क्षेत्र बन्न सक्छ।

सरकारले पहल गरोस्। वन्यजन्तु सप्ताहको अवसरमा सिंगो नेपाललाई जंगली चौंरी गाईको उपहार दिने यो क्षेत्रलाई नेपाल सरकारले दिने यो भन्दा राम्रो उपहार अरु के हुन सक्ला र?
फोटोको विवरण
१. जङ्गली गधाका बथानहरु (फोटो: राजु आचार्य)


ब्वाँसो नेपालका अन्य भागमा दुर्लभ भएपनि यस क्षेत्रमा सजिलै देखिन्छ (फोटो: जिरालदिन वेरहान)

कर्णालीको तिर हुँदै लिमि उपत्यका जाने बाटो (फोटो: राजु आचार्य)

स्थानीय मानिसहरु झोपा प्रयोग गरेर जोत्दै (फोटो: यादव घिमिरे)

जाङ गाउँका वृद्ध (फोटो: राजु आचार्य)

लिमि गाविसमा रहेका तीन गाँउहरु मध्य एक जाङ गाउँ (फोटो: यादव घिमिरे)

हिमाली क्षेत्रमा पाइने फ्याउ मुसा (फोटो: यादव घिमिरे)

अध्ययनको लागि गएको टोलीको मुख्य क्याम्प (फोटो: राजु आचार्य)

जङ्गली चौँरी गाई लगायत अन्य हिमाली वन्यजन्तुको वासस्थान (फोटो: राजु आचार्य)

बेमौसमी हिँउको शिकार: अध्ययन टोलीको क्याम्प (फोटो: यादव घिमिरे)

हुम्ला जिल्लाको सदरमुकाम सिमीकोट । यो नेपालको सबै भन्दा अग्लो ठाउँमा रहेको सदरमुकाम पनि हो । (फोटो: राजु आचार्य)
साभार: सेतोपाटी

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...