Thursday, August 14, 2014

ज्येष्ठ नागरिकका माग सम्बोधन बारे ।


सम्माननीय प्रधानमन्त्रीज्यू,
मार्फत,
श्री प्रमुख जिल्ला अधिकारी
जिल्ला प्रशासन कार्यालय, जुम्ला ।
विषयः ज्येष्ठ नागरिकका माग सम्बोधन बारे ।
ज्येष्ठ नागरिकहरू राष्ट्रका अमूल्य निधि र संस्कृतिका धरोहर हुन् । निजहरूको ज्ञान, सीप अनुभवलाई राज्यले सदुपयोग गर्न सकिरहेको अवस्था छैन । आर्थिक, सामाजिक र स्वास्थ्य सुरक्षा एवं मानव अधिकार लगायत अन्य राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट ज्येष्ठ नागरिकहरू बञ्चित रहेका छन् । विद्यमान ऐन कानुन, नीति, नियम समयानुकुल नभएको अवस्था एकातिर छ भने कार्यान्वयन र अनुगमन पक्ष फितलो हुदा, ज्येष्ठ नागरिकहरू थप मर्कामा परेका छन् ।
राज्यले ज्येष्ठ नागरिकको विभिन्न समस्याहरूको समाधानतर्फ आ.व. २०७१÷०७२ मा समेत कुनै ठोस कार्यक्रम नल्याएको हुदाँ हाल ज्येष्ठ नागरिकहरू थप आक्रोशित भएका छन् । यसले निकट भविष्यमानै भयावह अवस्था सृजना हुने स्पष्ट देखिन्छ । तसर्र्थ देहाय बमोजिमका ज्येष्ठ नागरिकका मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारी जुम्ला मार्फत सम्माननीय प्रधान मन्त्रीज्यू समक्ष ज्येष्ठ नागरिक जिल्ला संघ जुम्ला हार्दिक अपिल गर्दछ ।
नेपाल सरकारको तर्फबाट हाम्रा शान्तिपूर्ण मागहरूलाई यही २०७१÷०७२ को वजेट तथा कार्यक्रममानै सम्बोधन नगरेमा ज्येष्ठ नागरिकको हक अधिकार स्थापित गर्नका लागि सशक्त रूपमा जिल्ला देखी केन्द्र सम्ममा चरणबद्ध रूपमा विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्न ज्येष्ठ नागरिक जिल्ला संघ वाध्य हुने समेत व्यहोरा स्मरण गराउन चाहन्छौं ।

ज्येष्ठ नागरिकका मागहरू देहायबमोजिम रहेका छन्ः
१. निर्माणाधीन संविधानमा ज्येष्ठ नागरिकको हक, हित र अधिकार देहाय बमोजिम सुनिश्चित गरियोस् ः–
य वृद्घावस्था भएको कारणले कुनै पनि नेपाली ज्येष्ठ नागरिक अपहेलित तथा उत्पीडित हुनु पर्ने छैन र सम्मान पूर्वक जीवन निर्वाह गर्न पाउने हक हुनेछ ।
य ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य, आर्थिक तथा सामाजिक सुरक्षाको हक प्राप्त हुनेछ ।
य अशक्त, असहाय, बेवारिसे द्वन्द्व पीडित एव विस्थापित ज्येष्ठ नागरिकको मर्यादित जीवन यापनकोलागि पूर्ण जिम्मेवारी राज्यको हुनेछ ।
य ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभबको संरक्षण र सदुपयोगको हक राज्यबाट हुनेछ ।
य ज्येष्ठ नागरिकको सम्पत्तिमा आफुखुसी गर्न पाउने हक हुनेछ ।
२. ज्येष्ठ नागरिकहरूको लागि राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्तालाई उमेर वर्गीकरणको आधारमा देहायबमोजिम निर्धारण गरियोस् ।
६० देखी ७० वर्ष सम्म रू. १००० – (कर्णालीको हकमा १५००)
७१ देखी ८० वर्ष सम्म रू. १५०० (कर्णालीको हकमा २०००)
८१ देखी ९० वर्ष सम्म रू. २००० (कर्णालीको हकमा २५००)
९१ देखी ९९ वर्ष सम्म रू. ३००० (कर्णालीको हकमा ३५००)
१०० वर्ष भन्दा माथिका सबैलाई रू. ५००० (कर्णालीको हकमा ६०००)
३. सार्वजनिक यातायातका साधनमा ४ सिट आरक्षण सहित सबै ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरियोस् ।
४.स्वास्थ्य क्षेत्रमाः
क) ज्येष्ठ नागरिकहरूलाई नेपालका केन्द्रीय, क्षेत्रीय र अञ्चल अस्पतालहरूमा जेरियाट्रिक वार्डको व्यवस्था गरियोस् साथै सवै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपचारको व्यवस्था गरियोस् ।
ख) गैर सरकारी तथा निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ज्येष्ठ नागरिकहरूलाई ५० प्रतिशत छुट तथा सुविधाको लागि अविलम्ब स्वास्थ्य नीति बनाई लागु गरियोस् ।
ग) अभिलम्ब ज्येष्ठ नागरिक स्वास्थ्य विमा लागू गरियोस् ।
५.ज्येष्ठ नागरिक आयोग गठन गरियोस् ।
६. ज्येष्ठ नागरिकहरू को लागि आवश्यक दैनिक उपभोग्य वस्तुहरू (पानी, विजुली, टेलिफोन, खाद्यान्न, ग्यास, तेल, मनोरञ्जन) का साधन लगायत अन्य क्षेत्रहरूमा २५ प्रतिशत छुटको व्यवस्था गरियोस् । साथै अशक्त असहाय तथा वेवारिसे ज्येष्ठ नागरिकलाई यि सवै क्षेत्रहरूमा निःशुल्क वितरण गर्ने व्यवस्था गरियोस् ।
७. विद्यमान ज्येष्ठ नागरिक ऐन, २०६३ र नियमावली, २०६५ लाई आवश्यक संशोधन तथा परिमार्जन सहित प्रभावकारी रूपमा अविलम्ब कार्यान्वयन गरि अनुगमन गरियोस् ।
८. सेवा प्रदायक निकायहरू (वंैक तथा वित्तीय संस्थाहरू, पानि, विजुली, टेलिफोन तथा मनोरञ्जनको स्थान) मा ज्येष्ठ नागरिक मैत्रीमूखी बातावरण निर्माण गरियोस् ।
९. नेपालका सबै नगर, गाउ र टोल स्तरमा संचालित दिवा सेवा केन्द्र र ज्येष्ठ नागरिक क्लबलाई उपयुक्त बाताबरण निर्माण गरि सेवा सुविधा दिने व्यवस्था मिलाईयोस् एवं नभएका स्थानहरूमा स्थापना गर्ने विशेष कार्यक्रम ल्याईयोस् ।
१०. ज्येष्ठ नागरिक विषयलाई निम्न माध्यामिक तह देखि उच्च माध्यामिक तह सम्म पाठ्यक्रममा समावेश गरियोस् ।
११. ज्येष्ठ नागरिक हक अधिकारलाई सुनिश्चित गर्न अन्र्तराष्ट्रिय महासन्धि—क्ष्लतभचलबतष्यलब िऋयलखभलतष्यल इल तजभ च्ष्नजतक या इमिभच एभचकयलक९क्ष्ऋच्इए० निर्माण गर्ने नेपालबाट विशेष पहल गरियोस् ।
१२. माथि उल्लिखित ज्येष्ठ नागरिको सवै सवाललाई निरन्तर रूपमा पहिचान गरि त्यसको सम्बोधन गर्न ज्येष्ठ नागरिक संवैधानिक आयोग अबिलम्ब गठन गरियोस् ।
१३. ज्येष्ठ नागरिकको स्व– आर्जित सम्पत्तिमा अंशबण्डा नलाग्ने गरि आफुखुशी वा इच्छापत्र गर्ने व्यवस्था गरियोस् ।
१४. ज्येष्ठ नागरिकलाई आफ्नो छोरा छोरीको कमाइमा कम्तीमा २० प्रतिशत हिस्सा माग गर्ने अधिकार हुने नीतिको व्यवस्था गरियोस् ।
१५. ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई कदर गर्दै, राज्यको नीति निर्माण तहमा अनिवार्य रूपमा संलग्न गरियोस् ।
१६.ज्येष्ठ नागरिकको सेवा सुविधामा प्रत्यक्ष रूपमा संलग्न हुने सन्तानहरूलाई राज्यले करमा छुट जस्ता योजनाहरू संचालन गर्ने व्यवस्था गरियोस् र अचल सम्पत्ति खरिद विक्री गर्दा छुटको व्यवस्था गरियोस्
१७. सरकारको वार्षिक नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको विषयलाई अन्य विषयगत छुट्टै शिर्षक जस्तै गरि समावेश गरियोस् ।
बोधार्थ एवं कार्यार्थः
श्री जिल्ला प्रशासन कार्यालय। जुम्ला ।
श्री जिल्ला विकास समिति कार्यालय, जुम्ला ।
श्री जिल्ला स्वास्थ्य कार्यालय, जुम्ला ।
श्री महिला तथा बालबालिका, जुम्ला ।
श्री राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, शंखमूल काठमाण्डौ ।
तिर्थराज भारती
अध्यक्ष
जिल्ला जेष्ठ नागरिक संघ जुम्ला ।

श्रीमानका भाइजति सबै लोग्ने !


नेपालको हुम्ला जिल्लामा श्रीमानका सबै भाइलाई लोग्ने मान्नुपर्ने कुसंस्कार कायमै छ । ‘बहुपतिप्रथा’ भनिने यो महिलाविरोधी ज्यादती रोक्न सरकारको तर्फबाट कुनै प्रयत्न भएको देखिन्न ।
हुम्ला सदरमुकाममा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा स्नातक तह पढ्दै थिइन् बुरुङ्से गाउँकी याङजुङ लामा । स्कुल पढ्दादेखि नै उनी यहाँका लामा समुदायमा रहेको बहुपतिप्रथाको कट्टर विरोधी थिइन् । तर, अहिले आफैँ तीन दाजुभाइकी एक्ली पत्नी बनेर गर्भवतीसमेत भइसकेकी छिन् । २३ वर्षीया याङजुङ भन्छिन्, ‘परम्परै यस्तै छ । बुबाआमाको चित्त दुखाउनुभएन । त्यसैले मन नपरे पनि स्वीकार गरेँ ।’
गाउँमा बहुपतिप्रथा सामान्य मानिए पनि हुम्ला सदरमुकाममा भने त्यो चर्चाको विषय बन्छ । त्यही लाजले याङजुङ क्याम्पस पढ्न छाडेर गाउ“मा बस्न थालेकी छिन् । पहिलो सन्तान जन्माएपछि सिमकोट फर्केर होटल चलाउने योजना छ उनको ।
बहुपतिप्रथा स्वीकार गर्ने याङजुङ एक्ली पढालेखा युवती होइनन् । बाहिरी दुनियाँले अनौठो मान्ने परम्परा हुम्लाका लामा समुदायमा भने सामान्य छ, त्यसैले अझै कायम छ । बहुपतिप्रथामा दाइले जसको सिउँदोमा टाँसी (चौंरीको घ्यू) लगाएर बिहे गर्छन्, भाइहरूले उनैलाई श्रीमती स्वीकार गर्नुपर्छ । बहुपति बिहेको आफ्नै संस्कार हुन्छ । तर, अरू समुदायबीच धेरै चर्चा हुन थालेपछि पहिलेजस्तो धुमधामसँग विवाह हुन छाडेको वर्षौं भइसकेको छ । ‘पढेलेखेकाहरू सुटुक्क स्वीकार गर्छन् । लाज मान्छन्,’ बरगाउँ गाविसका पूर्वअध्यक्ष पदम लामा भन्छन्, ‘सकेसम्म बहुपति स्वीकारेको हल्ला सदरमुकाम नपुगोस् भन्ने ठान्छन् ।’
उच्च शिक्षा लिएका र स्वरोजगार केही युवाले विद्रोह गरेर अर्को बिहे गरेका छन् । तर, गाउँमा बहुपति चलन रोकिएको छैन । दुई वर्षअघि बरगाउँका धर्म लामाका तीन दाजुभाइले एउटी पढालेखा युवती भित्र्याए । धर्म, बुद्धि र च्या–नर्बु लामा पालो मिलाएर घर बस्छन् । एउटाको भागमा चार महिना पर्छ । एक्ली श्रीमतीले तीनजनालाई माया बाँड्नुपर्छ, उनीहरूको शारीरिक आवश्यकता पूरा गर्नुपर्छ ।
गाउँकै नर्बु र यामबहादुर लामाले एउटै पत्नी स्वीकार गरेका छन् । त्यस्तै, लुन्डुप र राया लामाका पनि एउटै पत्नी छिन् । बरगाउँकै भैरवबहादुर र गोरख एउटै पत्नीसँग रमाए पनि उनीहरूका भाइ सुनाम लामाले भने विद्रोह गरेर अर्को बिहे गरेका छन् । त्यसो गरेबापत सुनाम परिवारबाट बहिस्कृत छन् । परम्परा तोडेर छुट्टै श्रीमती राख्नेहरूले पुख्र्यौली सम्पत्ति पाएका छैनन् न त पारिवारिक जमघटमा उनीहरूको सम्मान हुन्छ ।
गाविसका पूर्वअध्यक्ष पदम एक्ला छोरा हुन् । त्यसैले उनकी पत्नी निमा याङजुमलाई बहुपति स्वीकार्नुपरेन । उनीहरूका दुई छोरा छन्, गोविन्द र कार्बु । गोविन्दको बिहे भई दुई नातिसमेत भइसकेका छन् । तैपनि पदम कान्छो छोराले भाउजूलाई श्रीमती स्वीकार गरोस् भन्ने चाहन्छन् । ‘मेरो इच्छा कान्छोले स्वीकार गरोस् भन्ने छ । रहर गरेर बिहे गरे दुःख पाउँछ,’ उनले सुनाए, ‘एक हात, एक डाडु–पन्यु नभए महिला मिल्दैनन् । परिवार भाँडिन्छ, सम्पत्ति बाँडिन्छ ।’
‘बहुपतिप्रथा’बाट विद्रोह गरेर छुट्टै श्रीमती राख्नेहरू धेरैजसो गाउँबाहिर छन् । एक दर्जन त्यस्ता युवा सदरमुकाम सिमकोटमा डेरा लिएर बसेका छन् । विद्रोह गर्नेमा धेरैजसो कान्छो भाइ छन् । तर, बरगाउँस्थित लिमाटाङ गाउँका रिन्जी लामा अपवाद भएका छन्, जो परिवारका जेठो सदस्य भए पनि आफैँ विद्रोह गरेका छन् । परम्परागत मागीविवाह गरेर श्रीमती भित्र्याए पनि पछि उनी आफैँले विद्रोह गरे । दोस्रो बिहे गरेपछि उनी घर फर्किएका छैनन् । चार दाजुभाइ भए पनि बहुपति स्वीकार गरेकी श्रीमती अहिले माइला भाइसँग छिन् ।
शिक्षित युवती बहुपतिप्रथा रुचाउँदैनन् । तर, धेरैले परम्परा धान्ने र घर भाँडिन नदिने भन्दै त्यही नरुचाएको विवाह स्वीकार गरेका छन् । २२ वर्षीया छिरिङ जाङ्मु लामा बहुपति विवाह आफ्नो जातिको संस्कार भए पनि स्वीकार नगर्ने बताउँछिन् । ‘महिलालाई धेरै भार हुन्छ । घरको काम, धेरै भाइहरूको यौनतृष्णा मेटाउन गाह्रो हुन्छ,’ उनी भन्छिन् । उनी लामा महिलामा पाठेघरको समस्या हुनुको एउटा कारण बहुपतिप्रथालाई ठान्छिन् । प्लस टु पढ्दै गरेकी लामा अहिले स्थानीय गैरसरकारी संस्थामा सामाजिक परिचालक छिन् ।
बरगाउँ– ७ की २१ वर्षीया छपाल लामा भने अलि फरक सोच राख्छिन् । बहुपतिप्रथाले अरू जे–जस्ता समस्या ल्याए पनि महिलालाई घरमूली बनाएकोमा उनलाई राम्रो लाग्छ रे । ‘भाइ–भाइ छुट्टिनुपर्दैन । अंशबन्डा हुन्न । सबैको कमाइ एकै ठाउँ आउने हुँदा आर्थिक अवस्था सुध्रिन्छ,’ उनी भन्छिन्, ‘पुरानो संस्कार हो । फाइदा–बेफाइदा दुबै बराबर छन् ।’
बरगाउँ– ६ की क्यामा लामा बहुपतिप्रथाले महिला शोषणमा परेको बताउँछिन् । जेटीए अध्ययनरत उनी बहुपति विवाहले महिलालाई शारीरिक र मानसिक तनाव हुने ठान्छिन् । ‘धेरै भाइहरूको चित्त बुझाउनुपर्ने बाध्यता एकातिर हुन्छ भने अर्कोतिर घर सम्हाल्नुपर्छ,’ उनले भनिन्, ‘आफ्नो इच्छा नलागेको मान्छेलाई पनि लोग्ने मान्नुपर्ने परम्परा युगसुहाउँदो छैन ।’
सिमकोट– ८ बुरुङ्सेकी २० वर्षीया जुम्कित लामा बहुपति विवाहलाई राम्रो मान्दिनन् । मानसरोवर उमाविमा कक्षा १२ मा अध्ययनरत उनी अहिले पनि बहुपति विवाह गर्नुलाई लोभमा पर्नु ठान्छिन् । ‘आफ्नो इच्छाविपरीत सबै भाइहरूलाई लोग्ने मान्नुपर्ने चलन महिलाअधिकारविरोधी छ । यसलाई राज्यले रोक्नुपर्छ,’ उनले भनिन् ।
बहुपतिप्रथामा विद्रोहको सुरुवात ५० को दशकको अन्त्यतिरबाट सुरु भएको मानिन्छ । ०४८ सालको निर्वाचनमा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामाले ०५० सालतिर प्रेमविवाह गरे । पाँच भाइकी एक्ली श्रीमती घरमा हुँदाहुँदै एकल श्रीमती भित्र्याएका उनी एकैसाथ विवाद र चर्चामा तानिए । ‘बिहे गरेर पढ्न गए । घरकी श्रीमती भाइहरूसँगै छिन्,’ समाजशास्त्रीसमेत रहेका लामा भन्छन्, ‘म घुमिरहनुपर्ने मान्छे । बायोलोजिकल निडले पनि अर्को बिहे गर्नुपर्ने भयो ।’ कान्छा भाइले पनि विद्रोह गरेर एकल बिहे गरे । त्यसयता हुम्लामा बहुपतिप्रथामा विद्रोह सुरु भएको मानिन्छ । उच्च हिमाली भेगमा रहेको ‘क्याराभान’ अर्थतन्त्रले बहुपतिप्रथा उपयुक्त रहे पनि आधुनिकतासँगै त्यो हट्नुपर्ने उनी ठान्छन् ।
०६८ को जनगणनाअनुसार हुम्लाको जनसङ्ख्या ५० हजार आठ सय छ । त्यसको करिब २४ प्रतिशत लामा समुदाय छ । त्यसमध्ये झन्डै ६० प्रतिशत निरक्षर छन् । अझै पनि करिब १५ प्रतिशत लामामा बहुपति विवाह गर्ने चलन कायमै रहेको पाइएको छ ।
त्यसैले शिक्षा र आधुनिकीकरणले युवा पुस्ताले उक्त प्रथा नरुचाए पनि पुरानो पुस्ताको दबाबका कारण हुम्लाका लामा समुदायमा अझै केही वर्षसम्म यो प्रथाको अस्तित्व रहने बहुपतिप्रथाका शोधकर्ता खेमु केसी बताउँछन् । उनी भन्छन्, ‘बहुपति धेरै पुरानो संस्कृति हो । जतिसुकै परसंस्कृति ग्रहण बढ्दै गए पनि जरो गाडेको प्रथा हट्न अझै केही वर्ष लाग्नसक्छ ।’  (सञ्चारिका फिचर सेवा : जनक कान्तिपुर दैनिकका नेपालगन्ज ब्युरो प्रमुख हुन् )

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...