Thursday, January 15, 2015

किन भयो शक्तिशाली राजापाक्छेको पराजय ?

 एकराज पाठक

श्रीलंकामा एकदशकदेखि कार्यकारी राष्ट्रपति रहेका महिन्दा राजापाक्छेले गत बिहीबार सम्पन्न निर्वाचनमा अप्रत्याशित पराजय भोग्नुपर्‍यो । वर्ष दिनअघिसम्म पनि उहाँको विकल्प सोचिँदैनथ्यो, आलोचना गरिदैनथ्यो । कसैसँग प्रतिस्पर्धा नै नहुने ठानिएका राजापाक्छेका विपक्षमा श्रीलङ्काली राजनीतिक परिस्थितिमा अकस्मात् यसरी परिवर्तन आयो कि तीन महिनअ अघिसम्मका उहाँकै स्वास्थ्यमन्त्री मैथ्रीपाला सिरीसेनाले राजापाक्छेलाई सहजै सत्ताबाट बाहिर धकेलिदिनुभयो । मैथ्रीपालाको धेरै प्रचार प्रसार थिएन, उहाँ त्यति चर्चामाक पनि हुनुहुन्थेन । र, राजापाक्छेलाई सितिमिति कुनै विपक्षीले राजनीतिमा औँला ठडयाउन सकिरहेका थिएनन् । यस्तो अवस्थामा एकाएक कसरी विपक्षी नेता मैथ्रीपाला सिरीसेनाले सहजै सत्ता  हातमा लिनुभयो त भन्ने जिज्ञासा यतिबेला श्रीलङ्कामा मात्र सीमित छैन, दक्षिण एसियाका अरु छिमेकमा पनि त्यत्तिकै छ । 
सन् २००५ देखि सत्तामा रहेका, सत्तामा रहँदा आलोचनाभन्दा बढी प्रशंसा नै पाएका तथा श्रीलङ्कालाई गृहयुद्धले थिल्थिलो पारेका बेलामा सन् २००९ मा तामिल टाइगरहरुको हिंसाबाट देशलाई मुक्त गरी शान्ति स्थापना गरेर लोकप्रियता कमाएका नेता राजापाक्छेले आखिर किन पराजय भोग्नुपर्‍यो त ? यस प्रश्नको जवाफ उहाँले हारेपछि मात्र श्रीलङ्काली जनताले खुलेर दिन थालेका छन् । यसअघि अर्थात् उहाँ सत्तामै रहँदा खासै आलोचना गर्ने अवस्था नरेहेकाले पनि श्रीलङ्काली जनताले यतिखेर मुख खोल्नसक्ने भएका हुन् । राजापाक्छेको पराजयको मुख्य कारणका रुपमा एक दशकको शासनकालमा उहाँले अपनाएको नातावाद र कृपावादलाई लिन थालिएको छ । भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ले गत शुक्रबारको सम्पादकीयमा लेखेको छ– “उहाँले आफ्नो शासनकालमा राज्यका महत्वपूर्ण वम् संवेदनशील स्थानमा कम्तीमा पनि ७५ जना आफन्त मात्र नियुक्त गर्नुभएको छ । सत्तामा आफ्ना नातेदारको यो झुण्ड सायद संसारकै एक नमुना पनि हुन सक्छ ।” उहाँको यो नातावादको नमूनाको पार्टीभित्रै र बाहिर पनि आलोचना हुने गरेकै थियो । तर उहाँको शासनताकाका उहाँ विरुद्धका विरोधका स्वर भने अत्यन्तै मलिन थिए । विपक्षीहरुले पनि सरकारको आलोचना कडा मात्रामा गर्न सक्दैनथे । सञ्चार तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रता निर्वाध रुपमा अभ्यास गर्न पाउने अवस्था पनि व्यवहारमा लगभग थिएन । यद्यपि, संविधान भने प्रजातान्त्रिक नै थियो । श्रीलङ्कामा पछिल्ला वर्षहरुमा धेरै पत्रकार मारिएका छन् तर तिनका हत्यारामाथि कारबाही भएको छैन । सरकारी कामकारबाहीको तिखो आलोचना गर्ने सञ्चारकर्मी अज्ञात समूहबाट मारिने तर कारबाहीको दायरामा कसैलाई नल्याउने सरकारको रबैयाले स्वयम्मा शङ्कास्पद थियो । दुई वर्ष कार्यकाल बाँकी छ्रँदै लोकप्रिय भएको बेला निर्वाचनमा जाँदा सहजै सफलता हासिल गर्ने आँकलनका लागि तेस्रो पटक उम्मेदवार बन्नुभएका राजापाक्छेले अब आफ्ना २८ वर्षीय जेठा छोरा नमललाई सत्तामा स्थापित गराउने सङ्केत उहाँकै पार्टीका नेताहरुले पाएका थिए र उनीहरु असन्तुष्ट थिए । श्रीलङ्कामा गत पाँच वर्षयता भ्रष्टाचार निकै मौलाएको टिप्पणी हुने गरेको थियो । राज्यका महत्वपूर्ण पद राष्ट्रपतिका आफन्तहरुले नै भरिएकाले त्यहाँ मौलाउँदो भ्रष्टाचारमाथि प्रश्न उठाउन सजिलो थिएन । न राष्ट्रपति आफैँले ती आफन्तहरुमाथि कारबाही गर्न सक्नुहुन्थ्यो । त्यसैले यो मोडेललाई श्रीलङ्काली विश्लेषकले ‘परिवार मात्रले चलाएको राज्य’ भनी आलोचना गर्दथे । तर, ती आलोचकहरु पनि सत्तापक्षको तारो बन्नबाट बाँकी रहँदैनथे । राजापाक्छेमाथिको आलोचना सन् २०१० मा दोस्रो कार्यकालका लागि निर्वाचन जितेपछिदेखि नै सुरु भएको थियो । तत्कालीन निर्वाचनमा प्रतिद्वन्द्वी बनेका पूर्वसेनाप्रमुख शरथ फोन्सेकाले निर्वाचनमा धाँधली भएको प्रतिक्रिया दिनासाथ उहाँलाई जेल हालियो । आफ्नै निकटतम प्रतिद्वन्द्वीलाई यसरी जेल हाल्नु प्राजातान्त्रिक व्यवहार नभएको भन्दै अधिकांश नागरिकले फोन्सेकामाथि सद्भाव दर्शाएका थिए । 
सन् २००९ मा देशमा २७ वर्षदेखि हत्या हिंसा मच्याई अलग्गै राज्यको माग गरिरहेको तामिल टाइगर्स समूहलाई हराउनु राजापाक्छेको सबभन्दा ठूलो उपलब्धि मानिन्छ । उत्तरी क्षेत्रमा पकड जमाएका तामिल टाइगर्सको अस्तित्व नै समाप्त भयो र देशले विजयोत्सव पनि मनायो । तर, त्यस युद्धका क्रममा सेनाले कम्तीमा पनि ४० हजार तामिल एवम् उनीहरुका समर्थकको हत्या गरेको आरोप लाग्ने गरेको छ । यो आरोपलाई उहाँले अस्वीकार गर्नुभयो र अपराधका घटनाको छानबिनका लागि संयुक्त राष्ट्रसङ्घले राखेको प्रस्ताव अस्वीकार गर्नुभयो ।  उहाँले त्यस युद्धग्रस्त क्षेत्रमा राष्ट्रसङ्घलाई जान पनि दिनुभएन । यसबाट धेरै मानिस मरेको भन्ने उहाँमाथिको आरोप पुष्टि भएको अर्थ स्वदेश र विदेशमा लगाइयो । त्यसका लागि न्यायिक परिषद् गठन गरी दोषिमाथि कारबाही र पीडितलाई क्षतिपूर्तिको प्रस्ताव गरे पनि त्यो कहिल्यै गठन गर्नुभएन । उहाँ आफू सिंहाली भएकाले उहाँका पालामा त्यहाँका अल्पसङ्ख्यकका पक्षमा रहेका सिरीसेनालाई जनताले रोजेका बताइन्छ । एउटा परिवारले रजाइँ गरेको टुलुुटुलु हेरेर मात्र बसिरहेका श्रीलङ्काली सामू विपक्षी दलको क्याम्पबाट राष्ट्रपतिको उम्मेदवार बनेका सिरीसेनाले भ्रष्टाचार र नातावादको अन्त्य तथा सुशासन कायम गर्ने वाचा गर्नुभएको छ । साथै, देशमा सञ्चारमाध्यमलाई स्वतन्त्रता र इन्टरनेटमा लगाइएको प्रतिबन्धमा फुकुवा गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । त्यसैले जनताले आफ्नो गोप्य मतदानको भरपुर सदुपयोग गरे । उनीहरुले दशवर्षे सत्ताको विकल्प खोजे र सिरीसेनालाई रोजे । त्यहाँका एकजना विश्लेषक भन्छन्– “अझै राजापाक्छेले आफ्नो जेठो छोरालाई सत्तामा आफ्नो विरासतका रुपमा ल्याउने पार्टीको आन्तरिक तयारीको प्रचार सार्वजनिक रुपमा भइदिएको भए उनको झन लज्जास्पद हार हुने थियो । उनको आशय थियो खुला रुपमा राष्ट्रपतिको विरोध गर्न सक्ने अवस्था देशमा नभएका कारणले पनि राजापाक्छेका कयौँ अनियमितताहरु लुकेका छन् ।” आलोचकहरुले जे जस्ता आरोपहरु लगाए पनि राजापाक्छेले श्रीलङ्कामा दिनहुँजसो मर्ने, मार्नेजस्ता तामिल टाइगर्सको हिंसात्मक युद्धको अन्त्य गराउनुभयो । यो दश वर्षमा उहाँले चीन सरकारको मनै जितेर देशमा ठूलो मात्रामा लगानी भित्रयाउनुभएको छ । साथै, श्रीलङ्कालीहरुलाई मनपर्ने कामका रुपमा पछिल्लो समयमा उहाँले सहज रुपमै नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरणका लागि पनि सघाउनुभएको छ । मतगणना सकिएसँगै उहाँले सरकारी निवास छोडेर जनमतको कदर गरेको घटनालाई श्रीलङ्कालीहरुले राम्रो मानेका छन् । रासस/विभिन्न समाचार एजेन्सीको सहयोगमा -

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...