Sunday, October 2, 2016

दसैंमा घर फर्कनेलाई सीमामा सास्ती

नेपालगन्जः
भारतको लद्दाखबाट बिहान साढे ६ बजे रूपैडिया उत्रेका चन्दनाथ-३ जुम्लाका विष्णु भण्डारीले रूपैडिया बसपार्कबाट २ सय मिटर पर नपुग्दै २ सय ५० भारतीय रुपैयाँ तिरे ।
सार्वजनिक बसमा रूपैडिया पुगेका उनलाई सामानसहित नेपालगन्ज बसपार्क पुर्‍याइदिने भन्दै भारतीय अटोरिक्समा जबरजस्ती राखियो तर सिमानामा नपुग्दै अर्को रिक्सामा जाऊ भन्दै रिक्साचालकले २ सय ५० भारु लगेपछि उनी छाँगाबाट खसेझै भए । रूपैडियाको चोकबाट फेरि अर्को अटोरिक्सामा चढेका भण्डारीले ५० मिटर नकाट्दै भारतीय कस्टमको नाममा नेपाली १ सय ५० रुपैयाँ तिरे । त्यसको १० मिटरमा पोसाकसहित हातमा लट्ठी बोकेर उभिएका भारतीय सुरक्षाकर्मीले हैरान पारेपछि फेरि नेपाली १ सय ५० रुपैयाँ तिर्नु पर्‍यो ।
दसैंका लागि लुगाफाटो लिएर २ महिनापछि घर फर्किएका दैलेखका जगदीश विकले रूपैडिया बसपार्कदेखि नेपालगन्ज बसपार्कसम्म पुग्दा विभिन्न ठाउँमा चिया खर्च भन्दै ४ सय ५० तिर्नु पर्‍यो । श्रीमती, छोरासहित ७ जनाको समूहमा आएका विकलाई भारतीय कस्टम र एसएसबीले हरान पारेपछि उक्त रकम तिर्न बाध्य भएका हुन् ।
भारतीय कस्टम र एसएसबीले सामान खोलेर दुःख दिएको बताउँदै विकले भने, ‘हातमा लट्ठी लिएर बसेका एसएसबी र कस्टमका कर्मचारीले अनावश्यक खानतलासी गरी अपशब्द प्रयोग गर्दै गाली गरे । किन यसरी गाली गरेको ? मैले त्यस्तो केही बोकेको छैन मात्रै के भन्न भ्याएको थिएँ, मैमाथि हातपात भयो ।'
नेपालगन्ज बसपार्कको एक होटेलमा भावुक मुद्रामा भेटिएका विकले भने, ‘बिहान नेपालीको आवतजावत पनि कम हुँदो रहेछ । उनीहरूको आरोपको प्रतिवाद गरेपछि थानामा लैजाने भन्दै हातपात गरे । थानामा लगेपछि धेरै कुटपिट गर्छन् र आफूसँग भएको पैसासमेत लुट्छन् भन्ने सुनेकाले मनमनै निकै डर पनि लाग्यो । उनीहरूले ममाथि हातपात गर्न थालेपछि श्रीमती र छोराछोरी डराएर रुन थाले अनि पैसा दिएर उम्किएँ ।'
भारतको सिम्लादेखि रूपैडिया हुँदै घर फर्केका सल्यान लाम्तीका अजय देवकोटाको कहानी पनि उस्तै छ । मंगलबार बिहान साढे ५ बजे रूपैडिया झरेका देवकोटा भारतीय रिक्साचालकको पहिलो सिकार बने । झिसमिसे उज्यालोमा रूपैडियामा कता बस्ने ? बरू आफ्नो देश (नेपालगन्ज) गइहाल्नु पर्‍यो भनेर रिक्सा चढेका देवकोटालाई छोटो बाटो भन्दै रिक्साचालककले गल्लीतिर लिएर गए । बाटोमा दुई अपरिचित भारतीयले रिक्स रोकेर ५ सय रुपैयाँ दे भन्दै धम्काएपछि एक शब्द नबोली ३ सय भारु दिएर उम्केको उनले बताए । रिक्साबाट ठगिएपछि निकै बिरक्तिएका उनले आफ्नो भारी आफैं बोकेर सीमा पार गर्ने अठोट गरे ।
कपडा र भाँडाबर्तनको भारी बोकेर निस्कन लाग्दा भारतीय कस्टमले कति रुपैयाँ दिन्छस् ? भनेर सोधेपछि उनी फेरि झस्किए । अलिअलि चिया खर्च दिनुपर्छ भन्ने सुनेका उनले भने, ‘सुरुमा नेपाली ५० रुपैयाँ निकालेर दिएँ, उल्टै गाली खानुपर्‍यो । पिठ्युँको भारी नबिसाई उभिएकै अवस्थामा भारतीय सुरक्षाकर्मी र कर्मचारीले खल्तीमा हात हाल्न थाले । खल्तीमा ५ हजारभन्दा बढी रुपैयाँ थियो । खल्तीबाट उनीहरूको हात हटाएर फेरि सयको नोट दिएपछि बल्ल ‘जा' भन्ने शब्द आयो, अनि भागें ।'
भारतीय सिमानाका ३ ठाउँमा गरी साढे ५ सय नेपाली तिरेका उनले नेपाली सिमानामा भने ६० रुपैयाँ मात्रै तिरे पुग्यो । भारतीय सुरक्षाकर्मीको व्यवहारदेखि आजित भएर नेपाली सिमाना पुग्दा स्वर्ग पुगेको अनुभव गरेको उनले बताए ।

चरणवद्ध रूपमा ठगिन्छन् नेपाली
रूपैडिया बसपार्कमा ओर्लनेबित्तिकै रिक्साचालकको सिकार
रिक्साचालकको मिलेमतोमा स्थानीय ठगले लुट्छनभारतीय कस्टममा पुगेपछि कर्मचारीले अनावश्यक दुःख दिँदै ठग्छनएसएसबीले अनुहार र सामान हेरेर तर्साउँदै पैसा असुल्छननेपाली सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीले पनि दुःख दिन छोड्दैनन्
जुम्लाका भण्डारी, दैलेखका विक र सल्यानका देवकोटा सिमानामा ठगिने नेपाली प्रतिनिधि पात्र मात्रै हुन् । नेपालीको महान् चार्ड बडादसैंमा घर फर्किनेको संख्या बढेसँगै भारतको रूपैडिया नाकाबाट भित्रिने नेपाली कामदार यसरी नै ठगिने गरेका छन् ।
दसंैकोमा घर फर्कने नेपालीसँग अघिपछिभन्दा केही बढी पैसा साथमा हुने भएकाले पनि नेपाली कामदार सीमा क्षेत्रमा गठिने कोटजहारी ९ रुकुमका खड्के बोहोरा बताउँछन् । भारतको कुल्लुमुस्नाली जिल्लाबाट आएका बोहोराका अनुसार सोझा र गाउँकाजस्ता देखिनेहरूबाट भारत र नेपालतर्फका सुरक्षाकर्मीले १ सय ५० देखि ५ सय रुपैयाँसम्म असुल्ने गरेका छन् ।
भारतीयले एकजना कामदारबाट ५ सयदेखि १ हजारसम्म लिने गरेको चालक श्याम चौधरीले बताए । एसएसबी, कस्टमदेखि बाहिरका ठगहरूसम्म नेपाली यात्रु लुट्ने धाउन्यमा हुन्छन् । यात्रु ठग्न नेपालका प्रहरी र भन्सारका कर्मचारी पनि पछि पर्दैनन् । एकजनाबाट नेपाली कर्मचारीले सामान हेरेर १० देखि ५ सय रुपैयाँसम्म लिएको एक यात्रुले बताए ।
नेपाली सुरक्षाकर्मी र कर्मचारीले भारतीयले जस्तो सास्ती नदिए पनि सामान चेकजाँज गर्दा रकम माग्ने क्रम दसैं नजिकिँदै गर्दा बढ्दै गएको एक रिक्सा चालकले जानकारी दिए । नेपालतर्फको भन्सार र सुरक्षाकर्मीले सामानको परिणाम र मान्छेको अनुहार हेरेर चिया खर्च माग्ने गरेको भारतको रुरु क्षेत्रबाट फर्किएका जाजरकोटका विष्णु नेपालीले बताए । यात्रुहरू सिमानामा नेपाली र भारतीय पक्षबाट ठगिएको जमुनाह सीमा प्रहरीचौकीले भने अस्वीकार गरेको छ ।
भारतीय सिमानामा केही लुटपाट हुने गरेको भए पनि नेपाली सिमानामा भने अहिलेसम्म त्यस्तो खबर नपाएको जमुनाह सीमा प्रहरीचौकीका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले बताए । नेपाल फर्किने होस् वा भारत जाने जोसुकै ठगिए वा केही समस्यामा परे सहयोगका लागि सिमानामा यात्रु सहायता कक्षा स्थापना गरिएको उनले बताए । क्षेत्रीले भने, ‘यात्रुलाई मर्का नपरोस् भनेर लागिरहेका छौं । भारतीय भूमिमा केही यात्रु ठगिने गरेको खबर पाएका छौं । ठगिएको विवरण यात्रु आफैंले यात्रु सहायता कक्षमा नदिँदा घटना हुन गएका हुन् ।'
जमुनाह सीमा प्रहरीचौकीमा असार महिनायता रूपैडियामा यात्रु लुटिएका ७ वटा घटना मात्रै दर्ता भएको क्षेत्रीले बताए । भारतीय सीमा सुरक्षा बलसँग मिलेर २ जनाको रकम फिर्ता गराएको, २ जनालाई बाँके प्रहरीमा सार्वजनिक मुद्दा चलाएको र ३ जना पक्राउ गर्न नसकिएको उनले बताए । भारतका विभिन्न सहरबाट रेल र बस राति आइपुग्ने भएकाले पनि यात्रु ठगिने गरेको उनको भनाइ छ ।
रातको समयमा प्रहरी जान नसक्न्ने र अँध्यारोमा भारतीय रिक्साचालकले अन्य व्यक्ति परिचालन गरेर नेपाली यात्रु लुट्ने गरेको क्षेत्रीको बुझाइ छ । नेपाली सुरक्षाटोलीसमक्ष यात्रुले जानकारी नगराएका कारण पनि यो विषय दुई देशका स्थानीय सुरक्षा अधिकारीको बैठकमा गम्भीर रूपमा प्रवेश नपाएको स्थानीय अधिकारीले बताए ।
दसैं र तिहारमा दैनिक १ हजार ८ नेपाली स्वदेश भित्रिने गरेको तथ्यांक सीमा प्रहरीचौकी जमुनाहसँग छ । आउने प्रायः यात्रु कुनै न कुनै ढंगले भारतीय वा नेपाली पक्षबाट ठगिने गरेको लामो समय रूपैडिया-नेपालगन्ज रुटमा रिक्सा चलाउँदै आएका शशिराम विकले बताए । विकले भने, ‘दिउँसो पनि रूपैडियाबाट नेपाली यात्रु रिक्सामा हालेर ल्याएका हुन्छौं । सिमानामा पुगेपछि भारतीय कस्टम र एसएसबीले नेपालीलाई अश्लिल शब्द प्रयोग गर्छन् । उस्तैपरे लाठी हिर्काउनसमेत पछि पर्दैनन् । त्यसपछि डराएका नेपाली कामदार खल्तीबाट पैसा झिकेर दिन बाध्य हुन्छन् । हामीले केही बोले रिक्सा आवतजावतमै प्रतिवन्ध लाग्छ ।'

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...