२० वर्षकै ठुलो हिउँले गएको हिउँपहिरोले हुम्ला कर्णाली रोकीयो
फागुन १९ । हुम्ला । पछिल्ला २० वर्षकै सबैभन्दा ठूलो हिमपातका कारण लिमि गाविसको जाङ्गको ढुङ्गा फुटाल्नेमा हिजो सोमबार गएको हिउँ पहिरोका कारण हुम्ला कर्णालीको ८० प्रतिशत पानी रोकिएको छ ।
सदरमुकाम सिमकोट देखि ५३ कोषमा रहेको उक्त स्थानमा अचानक आएको हिमपहिरोले नदी थुनिएपछि कणालीको पानी सुकेको प्रत्यक्षदर्शी लिमि जाङ्गका पञ्जोकपेम्बा लामाले बताए । उनका अनुशार गएको ६ दिन देखि लगातार परेको हिउँ गएका २० वर्ष यताकै सबैभन्दा ठूलो भएकाले यो अवस्था आएको हो । जाङ्गबाट टेलिफोनमा जानकारी गराएका लामाले भने “सोमबार अपरान्ह लिमिको ढुङ्गा फुटाल्नेमा अचानक ठूलो आवाज आएको थियो । त्यसको केही समयमै लिंक खोला र टाक्ची खोला मिसिएिर लिमि हुँदै बग्ने नदीको पानी एकाएक घटेर आयो, जसको असर सिंगो कर्णालीमा परेको हो ।” हिउँपहिरो गएको ठाउँलाई प्रत्यक्ष नदेखेका लामाले नदी कसरी रोकिएको छ भन्ने बारेमा आफू अनविज्ञ भएपनि बगेर जाने नदीको मात्रामा अनपेक्षित कमी आएको बताए । उनका अनुशार अहिले हिउपहिरो गएको स्थानमा ९ फिट हिउँ जमेको छ भने भारी हिमपातले घरभन्दा बाहिर निस्कन सक्ने अवस्था छैन ।
चिनको ताक्लाकोट भएर बग्ने हुम्ला कर्णालीमा लिमिबाट बग्ने लिंक खोला, टाक्ची खोला, तिल खोला र हल्जी खोला मिसिने तिलचुङ्गमा आइपुग्दा लिमि भएर बग्ने खोलाको पानीको बहाव ९० प्रतिशतले घटेको मुचु प्रहरी चौकीका निमित्त प्रमूख हवल्दार लक्ष्मण सेनले बताए । उता चिनका ताक्लाकोट सेरीका स्थानीय वासिन्दा कुङ्गापासाङ्ग लामाका अनुशार मानसारेवरको राक्षस ताल नजिकैबाट बग्ने नदी ताक्लाकोट सम्म सामान्य नै भएर बगेको छ । अहिले पनि भारी हिउँ परिरहेको ताक्लाकोटमा १० फिट हिउँ जमेको ताक्लाकोटमा भएका लामाले चिनियाँ नम्बरबाट फोनमा बतउँदै घरबाट बाहिर निस्कन नकेकाले त्यसभन्दा तलको अवस्थाका बारेमा केही भन्न नसकीने जनाए ।
सरकारका आ–आफ्नै अनुमान
उता मध्यपश्चिमको जल तथा मौशमलाई नियमित अनुगमन गरिरहेको सरकारी संयन्त्र जल तथा मौशम पूर्वानुमान क्षेत्रिय कार्यालय सुर्खेतले समेत घटनाका बारेमा अनविज्ञता प्रकट गरेको छ । हुम्ला कर्णालीको पानीको बहावका बारेमा खासै तत्थ्यांक नभएकाले पनि हिमपहिरोले कती पानी जम्मा भएको छ भन्ने एकिन गर्न नसकिने कार्यालयका गोविन्द झाले बताए । यदी हुम्ला कर्णालीको नदी हिमपहिरोका कारण हिजो देखि नै रोकिएको हो भने त्यसले ठूलो असर पार्ने बताएका झाले हुम्ला कर्णालीको आजको बहावलाई एकिन गरेरै भन्न नसकिने तर्क गरे ।
कर्णाली नदीको मुख्य नदी हुम्ला कर्णालीको पानी एकाएक रोकिएपछि कर्णाीको बहाव क्षेत्रका वासिन्दालाई त्रसित बनाएको छ । आज बिहानै अहिले सम्मकै कम पानी कर्णालीमा बगेपछि हुम्ला, मुगु बाजुरा, कालिकोट देखि बर्दियाका जिल्लाका स्थानीय वासिन्दाले चिन्ता व्यक्त गरेका छन् । लगभग २ दिन देखि रोकिएको कर्णालीको पानी एकै पटक बगेर आएमा त्यसबाट पुग्ने क्षति प्रती त्रसित भएका कर्णाली नदीको प्रभाव क्षेत्रका वासिन्दालाई स्थानीय प्रशासनले समेत सचेत रहन आग्रह गरेको छ । आज बिहानै कर्णालीको बहावमा अपत्यारलो तरिकाले कमी आएपछि स्थानीय सञ्चार माध्यम र सुरक्षा निकायलाई परिचालन गरेर कर्णाली नदी आसपासमा नरहन सचेत गराएको कालिकोट जिल्लाका सहायक प्रमूख जिल्ला अधिकार मिमबहादुर शाहीले बताए । उता मुगु जिल्लाकोे प्रहरी प्रशासनले समेत हुम्ला कर्णालीको आसपासमा वसोवास गर्ने वासिन्दलाई हाई अलर्टमा रहन प्रहरी चौकी परिचालन गरेको छ । बाजुरा जिल्लाले समेत गृह मन्त्रलयको निर्देशनमा स्थानीय वासिन्दालाई कर्णालीको किनार छोडेर बस्न सूचना जारी गरेको कोल्टी प्रहरी चौकीका हवल्दार मनवीर फडेराले जानकारी दिए । कर्णाली थुनिएको ठरले बर्दिया जिल्ला सम्म समेत ञास फैलिएको छ ।
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home