Friday, January 9, 2015

कर्णाली गरिब होइन राज्यले जबर्जस्ती गरिबीको बिल्ला भिरायो

नेपालको विकट क्षेत्रको रुपमा परिचित कर्णालीको विकास र सम्वृद्धिको अभियानमा लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा हुम्लाबाट प्रतक्ष निर्वाचित सभासद जीवन बहादुर शाही कर्णाली अञ्चलका पीडा ,वेदना र रोदनलाई बुलन्द पार्दै कर्णालीमा रहेको प्राकृतिक स्रोत साधनको अधिकतम प्रयोग गर्नका लागि राज्यको भूमिका खोजीरहेका छन । वर्तमान मन्त्रीमण्डलमा कर्णालीको एक जना पनि समावेश नभएको भन्दै राज्यले बनाएको समानुपातिक र समावेशी सिद्दान्तको खिल्ली उडाएको आरोप लगाउछन साहि ।
कर्णाली गरिब होइन राज्यले जबर्जस्ती गरिबीको बिल्ला भिराएको गुनासो पोख्छन । उनि कर्णालीको विकासको लागि पाँच वटा (ब) को सुत्र बाटो ,बिजुली, विचार ,बन र बजार ब्यबस्थापन प्रयोग गर्नुपर्ने बताउछन ।
कर्णाली स्याउ च्याउ र झ्याउको भण्डार भएकाले यसको उत्पादन गर्नका लागि राज्यले बिशेष योजना र नीति अपनाउनु पर्ने सुझाब दिन्छन । जलस्रोतको अथाह सम्भावना भएको कर्णाली सँग लगभग २१ हजार मेगावाट जलबिद्युत क्षमता रहेको बताउदै कर्णाली हिरा खानी भएको दाबी गर्छन । सम्वृद कर्णाली हाम्रो अभियान हो  यसैमा केन्द्रित भएर माइ न्युज नेपाल डटकमका लागि सभासद जीवन बहादुर शाही सँग सुनिल सापकोटा र अर्जुन अधिकारीले गरेको राजनीतिक— विकास बहसः
कर्णाली जस्तो विकट ठाउँमा जन्मेर पनि राजनीतिमा लाग्ने प्रेरणा काँहबाट पाउनु भयो ?
कर्णालीमा जन्मिएयता पनि मैले औपचारिक शिक्षा राजधानीको बुढानिलकण्ठबाट लिएको हो । मैले कर्णालीमा गएर काम गर्दा त्यहाँ देखेको दुःख ,पीडा, कष्ट ,वेदनाका साथसाथै कर्णालीका जनताले भोग्नु परेको अन्याय र अत्याचारलाई अन्त्य गर्नका लागि नीति निर्माण गर्ने राजनीतिबाट नै सम्भव छ भन्ने लागेर जनताको सेवा गर्नका लागि राजनीतिको बाटो राजेको हु र मेरो उदेश्य भनेको सम्पन्नका साथसाथ सम्वृद्ध कर्णाली निर्माण गर्नु हो  । अहिले कर्णालीलाई नमार भन्ने अभियानका साथ कार्य गर्नका लागि र कर्णालीको विकासको भविष्यको सुन्दर लक्ष्मण रेखा कोर्नका लागि भनेरै यो बिकल्पमा गएकोले म कर्णाली बनाउने अभियानताका रुपमा कार्य गर्नका लागि तयार भए  ।
कति बर्षको उमेरमा राजनीतिक गतिविधि गर्न सुरु गर्नु भयो ?
सोह्र बर्षको उमेरमा एस एल सी पास गरे त्यसपछि बाहिर गएर पाइलट तालिम सकेर नेपाल फर्केपछि २३ बर्षको उमेरमा राजनीतिक क्रियाकलापमा सामेल हुन थाले २०५५ सालमा भएको चुनावबाट जिल्ला विकास समिति हुम्लाको सभापतिमा निर्वाचित भए । त्यस्तै नेपाली काँग्रेस हुम्ला जिल्ला सभापति भए र आज भन्दा पाँच बर्ष अगाडिको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको निर्वाचनमा कर्णालीबाट केन्द्रीय सदस्यमा चयन भए । २०७० सालको संविधान सभाको निर्वाचनमा हुम्लाबाट बहुमतले विजयी भएको हु ।
सम्पन्नका साथसाथ सम्वृद्ध कर्णाली निर्माण गर्ने आधारहरु के के हुन ?
हामीलाई राज्यले बिभिन्न काल खण्डमा शोषण गर्दै नियन्त्रणमा लिएको  छ । राज्य कै कारण हाम्रो परनिर्भरता बढ्दै गएको छ यो बढ्नु भनेको त्यति राम्रो होइन । पहिला बृटिसहरुले चाइनिजहरुलाई अफिम दिई नसामा फसाएर उनीहरु पछी त्यसमै केन्द्रित हुन बाध्य भए ।
बाटो भएन भने केहि पनि हुदैन सडक भनेको विकासको मेरुदण्ड हो त्यसैले सर्वप्रथम कर्णालीलाई सडक संजाल सँग जोड्नु पर्छ । बिजुली हाम्रो उज्यालो भविष्य, स्वास्थ्य ,सिक्षा र चेतना हो र हाम्रो सम्वृद्धि को आधार पनि हो । आज बिचारले संसार बदल्न सकिन्छ । हरियो बन भनेको हाम्रो धन हो । यसमा कर्णालीको भबिष्य लुकेको छ र बजार ब्यबस्थापन अर्को महत्वपूर्ण बिषय हो । हाम्रो सिमाना चीन सँग जोडिएको छ मानसरोवर क्षेत्र सँग सिधा सम्पर्क छ भारत सँग पीटिए भएको छ । हाम्रा उत्पादन बिक्रि वितरण गर्न कर्णालीलाई राज्यले बजारीकरण गर्न आवश्यक छ ।  कर्णाली स्याउ, च्याउ र झ्याउको भण्डार भएकाले यसको उत्पादन गर्नका लागि राज्यले बिशेष योजना र नीति अपनाउनु पर्छ  । कर्णाली सँग जलस्रोतको अथाह सम्भावना छ ।  कर्णालीमा लगभग २१ हजार मेगावाट जलबिद्युत क्षमता रहेको हुनाले कर्णाली हिरा अर्थात सेतो सुन को खानी हो ।
कर्णालीको विशेषता भनेकै अशिक्षा ,गरिबी र भोकमारी हो यसलाई अन्त्य गर्न तपाईले कस्तो भूमिका खेल्नु हुन्छ ?
कर्णालीमा भोकमरी भन्दा पनि बढी भातमारी भयो । कर्णालीमा भात होइन फलफुल गुन्द्रुक र ढिडो छं जहाँ प्रशस्त मात्रामा फापर कोदो लगाएतका बिभिन्न किसिमका चामलको भात भन्दा बढी तागतिला खानेकुरा पाहिन्छ खोइ राज्यको ध्यान त्यतातिर कुहेका चामल वितरण गर्नुको साटो स्थानीय स्तरमा नै आवश्यक पौष्टिक आहार उत्पादन गर्नका लागि बिशेष कृषि अभियान चलाए  कर्णालीलाई पुग्ने मात्र होइन बाहिर निकासी गर्नसक्ने समेत उत्पादन हुन्छ ।
jiwan bhadur sahai
अहिले नेपालले २ अर्बको कोदो भारतबाट  निर्यात गर्छ जब की यो भन्दा बढी त हाम्रै कर्णालीमा उत्पादन गर्न सकिन्छ देशको जी.डी.पी .उच्च हुनुको कारण स्थानीय उत्पादन हो । राज्यले  कर्णालीलाई सधै उपेक्षा गरेपछी अशिक्षा त हुने भैहाल्यो नि ।
राज्यको शिक्षा नीति भनेको सुगम केन्द्रित छ दुर्गमलाई देख्दैन । भर्खर एउटा शिक्षण अस्पताल खोलेको छ बिरामीले समयमा उपचार नपाएर अकालमै मृत्युको सिकार हुनु परेको छ । पूर्वाधारमा लगानी गरेको छैन मौसम अनुकुलको पाठशाला खोलिएको छैन अधिकांश स्कुलहरु जाडोको समयमा बन्द हुन्छन । कर्णाली गरिब होइन राज्यले जबर्जस्ती रुपमा गरिबीको विल्ला भिराएको छ । हामी सँग अथाह प्राकृतिक स्रोत साधन छन । जसले कर्णालीलाई मात्र होइन सिङ्गो नेपाललाई सम्बृद्द पार्न सक्ने क्षमता राख्दछ । विकास नगर्ने रोजगारी नदिने अनि गरिब भन्ने ?
नेपालको पहिचानको रुपमा रहेको कोदोको ढिडो र गुन्दु्रकलाई राज्यले किन अपमान गरेको होला ?
नेपामा अहिले पहिचानको कुरा उठिरहेको छ तर हामी हाम्रो राष्ट्रिय पहिचानको रुपमा रहेको गुन्दु्रक र ढिडोलाई वेवास्ता गरी रहेका छौ । उपेक्षा गर्दै छौ । यसले हाम्रो शान र अभिमान बढाउनका लागि महत्वपूर्ण योगदान दिन सक्छ । यसलाई संरक्षण गरेर नेपाललाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ राज्यले त्यता तर्फ ध्यानदिनुपर्छ । कर्णालीलाई उपेक्षा गरे हामी माथि असमान र अन्याय पूर्ण व्यवहार हुने छ । हामी सम्पन्न अन्चलका गरिब जनता हुन बाध्य भएका छौ ।
सम्बृद्द कर्णाली निर्माण गर्नका लागि सरकारले कस्तो रणनीति अबलम्बन गर्नु पर्छ ?
कर्णाली निर्माणको पहिलो आधार भनेको सडक संजाल हो । हामी इलामको चिया ,अदुवा ,अम्लिसो अलैची भन्छौ किन हो त्यहाँ सडक पुगेको छ । बजारको उचित ब्यबस्थापन र प्रचार प्रसार नै हो । इलामको माइ पोखरीमा किन मान्छे जान्छन भन्दा त्यसका बारेमा सबैलाई थाहा छ र सडक मार्गबाट सजिलै सँग पुग्न सकिन्छ । कर्णाली सँग रहेका नेपालकै सबैभन्दा ठुलो रारा र  गहिरो से फोक्सुण्डो ताल छ तर त्यसको त्यति प्रचार प्रसार भएको छैन । भएपनि सजिलै सँग जान सकिन्न हवाइजहाजमा जानका लागि एक त पाइदैन पाएपनि एकदमै महँगो छ ।
पर्यटन ,कृषि ,जलबिधुत ,जडीबुटी , जंगल र संस्कृतिको उचित उपयोग, प्रबद्र्धन ,संरक्षण र  संचार क्षेत्रमा राज्यले जिम्मेवार भएर लागि पर्यो भने कर्णाली नेपालकै नमुना समाज र गाउको रूपमा चिनिन सक्छ ।
कालिकोट –जुम्ला सडकलाई ज्यानमारा राजमार्गको रुपमा चिनिन थालिएको छ यसलाई ज्यानमाराबाट हटाई राहतमार्गको रुप दिन के गर्नु पर्छ ?
कर्णालीलाई तराई अन्य क्षेत्र सँग जोड्ने एकमत्रा मार्ग भनेको जुम्ला –कालिकोट सडक हो । जसले कर्णालीलाई सम्पर्क सम्बन्ध विस्तार गरेको छ तर अझै पनि कर्णालीका दुई जिल्ला हुम्ला र डोल्पा राष्ट्रिय सडकको पहुच भन्दा बाहिर छन । यी दुई जिल्लालाई  जोड्ने प्रयास भने अहिले पनि जारी छ । यसका लागि सरकार र स्थानीय जनताले मिलेर काम गर्नुपर्छ । जहाँसम्म अत्याधिक दुर्घटना हुने गरेको छ त्यसमा हामीले सरकारलाई मात्र दोष लगाएर उम्कन मिल्दैन यसका लागि हामी पनि सचेत हुनुपर्छ । सडक सुरक्षाका लागि जनचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्छ ।  क्षमता भन्दा बढी यात्रु चढाउनु पनि हुदैन हामीले पनि जबर्जस्ति चड्ने गर्नु हुदैन । कर्णाली राजमार्ग साँघुरो भएकाले सडकको चौडाई बढाउने कार्यमा पनि सरकारले ध्यान दिनुपर्छ ।
jiwan bhadur
कर्णालीमा नागरिकको आधारभूत अधिकार स्वास्थ्य र शिक्षाको स्थिति कस्तो छ  ?
जनताले पाउने आधारभूत सेवा सुविधा स्वास्थ्य र शिक्षा कर्णालीमा पुग्न सकेको मैले पाएको छैन । हस्पिटल पनि प्रयाप्त मात्रामा छैनन् । एउटा सुत्केरी उपचार नपाएर मर्न बाध्य हुनुपरेको छ । के ? राज्य पनि छ र भन्ने कुरा कर्णालीमा गएपछि भान हुन्छ । हस्पिटल भएपनि आवश्यक औजार ,मेशिनहरु उपलब्ध छैन । एक्स –रे मेशिन पनि हस्पिटलमा छैन भने त्यो हस्पिटलको के काम ! स्वास्थ्यको स्थिति एकदमै दयनीय रहेको छ । शिक्षाको कुरा गर्नु हुन्छ भने त झन विकराल अवस्थामा छ कलिला बालबालिका पढ्नका लागि टाढाको बाटो धाएर जानुपर्ने अवस्था छ । एकदम न्यून संख्यामा स्कुलहरु छन ।
माथिल्लो कर्णाली जलबिधुत आयोजनाले कर्णालीको विकासका लागि कस्तो योदान दिन सक्छ ?
माथिल्लो कर्णाली जलबिधुत आयोजनाको सन्दर्भमा अहिले राष्ट्र घात भयो भनेर आवाज उठिरहेको छ । हामी आफु पनि बनाउन नसक्ने अरुलाई पनि बनाउन नदिने यो प्रबृति राम्रो होइन । यसले देशको विकास भन्दा विनास गर्छ । भारतको प्रधानमन्त्री सँग ज्यु ज्यु गरेर २०० मेगावाट बिजुली देउन् भन्नु पर्ने अवस्था छ  । हामी बाहिर बाट तेल ल्याउछौ के त्यो प्राकृतिक स्रोत होइन । हाम्रो मुलुक बिजुली बेचेर विश्वकै सम्बृद्द मुलुक बन्न सक्छौँ । ४००० मेगावाट बिजुली निक्लने ठाउँमा ९०० निकाल्न खोजेको भन्ने आरोप मलाई सत्य लाग्दैन किनकि जति धेरै बिजुली निक्लियो आयोजना त्यतिनै सस्तो हुन जान्छ कुन मुर्खले धेरै क्षमता भएको ठाउँमा थोरै बिधुत निकालेर आफ्नै खुट्टामा बन्चरो हान्छ । माथिल्लो कर्णाली जलबिधुत आयोजना भनेको हाम्रो विकासको मेरुदण्ड हो ।
तपाई कर्णालीको जनप्रतिनिधि भएको नाताले कर्णालीलाई सिंहदरबार सँग जोड्ने सेतुको रुपमा काम गर्नु सक्नु हुन्छ ?
कर्णालीलाई सिंहदरबार सँग जोड्ने भन्दा पनि सिंहदरबारको अधिकार कर्णालीमा लगेर स्थापित गराउने हो । यसका लागि म अनवरत रुपमा लागिरहेको छु । राज्यले जनतालाई दिने शिक्षा स्वास्थ्य रोजगारीको सुनिश्चितता गर्दै भोकमरीको अन्त्य गर्ने मेरो पहिलो प्राथमिकता हो । सम्बृद्द कर्णाली नै मेरो चाहना हो । यसका लागि हामी मिलेर जनताको आधारभूत अधिकारको संरक्षण र प्रबर्धन गर्नु हामी सबैको दायित्व भित्र पर्दछ । त्यसैले म कर्णालीको जनप्रतिनिधि भएको नाताले कर्णालीलाई सिंहदरबार सँग जोड्ने सेतुको रुपमा काम गर्नु सक्छु र कर्णालीको अधिकार सिंहदरबारमा स्थापित गरेरै छाड्छु ।
 साभार http://mynewsnepal.com/

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...