Monday, January 5, 2015

पत्रकारिता पढेकालाई सूचना अधिकृत बनाउन माग

२१ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषय लिएर स्नातकोत्तर तह अध्ययनरत र अध्ययन सम्पन्न गरेका विद्यार्थीले सरकारी निकायमा सूचना अधिकृत पदका लागि दरखास्त खुलाउन लोकसेवा आयोगलाई आग्रह गरेका छन् ।
केन्द्रीय पत्रकारिता विद्यार्थी समाजले आयोगका अध्यक्ष कयोदेवी यमीलाई सोमबार ज्ञापनपत्र बुझाउँदै चालु आर्थिक वर्षदेखि नै सूचना अधिकृत पद सिर्जना गरी दरखास्त खुलाउन माग गरेको हो ।
सो अवसरमा अध्यक्ष यमीले सूचना अधिकृतको पद सिर्जना हुनुपर्ने आफूले पनि महसुस गरेको बताउँदै सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गर्नुपर्ने कानुनी प्रावधान रहेको जानकारी दिइन् ।
सामान्य प्रशासन मन्त्रालयले पद सिर्जना गरी प्रक्रिया अगाडि बढाएमा आयोगका तर्फबाट पूर्ण सहयोग रहने उनले प्रतिबद्धता जनाइन् ।
अध्यक्ष यमीले भनिन्, ‘पद सिर्जना भएपछि पाठयक्रम बनाउने र दरखास्त माग गर्ने काम मात्र आयोगको हो । पद सिर्जना गर्न समान्य प्रशासन मन्त्रालयलाई तपाइँहरूले ध्यानाकर्षण गराउनुहोस् ।’
उच्चस्तरीय प्रशासनिक सुधार समितिले समेत सबै सरकारी निकायमा सूचना अधिकृत नियुक्त गर्नुपर्ने र त्यस पदमा पत्रकारिता अध्ययन गरेका विद्यार्थीलाई मात्र सहभागी गराउन उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो ।
सूचनाको हकसम्बन्धी ऐन लागू भएपनि त्यसका लागि आवश्यक जनशक्तिका रुपमा रहेका आमसञ्चार तथा पत्रकारिता अध्ययन गरेका विद्यार्थीलाई सहभागी गराउन चासो नदेखाइएकाले आयोगसमक्ष ध्यानाकर्षण गराइएको केन्द्रीय पत्रकारिता विद्यार्थी समाजका अध्यक्ष भीम गौतमले बताए ।
सबै सरकारी निकायमा अनिवार्य सूचना अधिकृत नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था रहेपनि त्यसका लागि सोही विषय अध्ययन गरेका विद्यार्थीलाई सहभागी गराउन नसक्नु सरकारको कमजोरी भएको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयबाट तीन दशकदेखि पत्रकारितामा स्नातक अध्ययन पूरा गरेका विद्यार्थीहरु मनग्य रहे पनि पढाइअनुसारको पद सिर्जना हुन सकेको छैन । रासस

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...