Saturday, January 17, 2015

डिभी परेर अमेरिका पुगेका युवकले ‘सुसाइड नोट’

अरुलाई विकास, राजनीति र जिउने आधार सिकाउँदै हिँड्ने युवकले आफैंले मृत्यु रोजे’
- भोलाराज पौडेल / नुवाकोट 
‘मेरो बारे उनले सोधे मर्‍यो भनिदिनु’
मेरो बारे उनले सोधे मर्‍यो भनिदिनु
मर्ने बेला तिम्रो खोजी गर्‍यो भनिदिनु
खुसी हुनु जीवनमा नरोई बस्नु अब,
धर्तीबाट अन्तै बसाई सर्‍यो भनिदिनु
तिम्रो बाधा अड्चन सबै पन्छियो नि अब 
उनको लागि ठूलो खड्को टर्‍यो भनिदिनु
बोझ अब हुन्न उनलाई एकछत्र राज
उनको लागि ठूलै चिठ्ठा पर्‍यो भनिदिनु
सम्झिएर आफन्तले बिष्णु खै त भन्लान् 
उनकै यादमा कुहियर झर्‍यो भनिदिनु 
मेरो बारे उनले सोधे मर्‍यो भनिदिनु 
मर्ने बेला तिम्रो खोजी गर्‍यो भनिदिनु
बिष्णुहरि भण्डारी 
थानसिङ–८, नुवाकोट 
हाल- Virginia USA, 26 February 2014
झण्डै एक वर्षअघि आफ्नो फेसबुकको वालमा पोष्ट गरेको माथिका पंक्तिहरु हो, नुवाकोट थानसिङ घर भइ अमेरिका बस्दै आएका विष्णुहरि भण्डारीको । विष्णुहरिले लेखेको यो पंक्ति एक वर्षपछि उनको जीवनमा ठ्याक्कै मेल खाएको छ । उनले अक्षरमार्फत जुन आशय पोखेका थिए, त्यो आशय पूरा गरेका छन्, अर्थात उनले मृत्यु रोजेका छन् । अर्थात एक बर्षअघि नै फेसबुकमा उनले पोष्ट गरेको यो पँक्ति आज ‘सुसाइड नोट’ बन्न पुगेको छ । मानौं, एक बर्षअघिदेखि नै उनी जीवनदेखि विरक्त थिए । र, फेसबुकमा यस्ता विरह पोखिरहन्थेः
खुसी हुनु जीवनमा नरोइ बस्नु अब,
धर्तीबाट अन्तै बसाई सर्‍यो भनिदिनु
साँच्चै विष्णुहरिले यो धर्तीबाट बसाई सरेका छन् । उनले १५ जनवरीमा यो संसारबाट बिदा भए । दुई वर्ष अघि डिभी परेर अमेरिका पुगेका विष्णुहरिको मृत्युको खवरले भण्डारी परिवारसहित अहिले सिंगो गाउँ नै शोकमग्न भएको छ । लामो समय विद्यार्थी आन्दोलनमा सक्रिय भण्डारी श्रीमती र एक छोरीसहित दुई वर्ष अघि अमेरिका गएका थिए । पाँच महिना अघि मात्रै कान्छी छोरीको जन्म भएको थियो ।
Bishnuhari-bhandari-USA1
थानसिङ गाविस वडा नं. ८ छापथोक स्थायी घर भएका उनी नेपाल विद्यार्थी संघमा लागेर सक्रिय राजनीतिमा थिए । अमेरिकाको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्दै आएपनि राजनीतिमा उनको उत्तिकै सक्रियता थियो । ३४ बर्षीय भण्डारीको वुडब्रिजस्थित आफ्नै डेरामा जनवरी १५ तारिखको बिहान ४ बजे मृत्यु भएको हो । उनले बाथरुममा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनी नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ तथा जनसम्पर्क समिति भर्जिनिया शाखामा समेत आवद्ध थिए । जेठो छोरा विष्णुको निधनको खवरले ६६ बर्षीय पिता भैरवप्रसाद भण्डारी अर्धमुर्छित अवस्थामा छन् । स्थानीय दीपक भण्डारी भन्छन्, ‘परिवार शोकमा छ, यस्तो अकल्पनीय घटना सुन्नुपर्दा पूरै गाउँ नै स्तब्ध छ ।’ उनको एक भाइ, आमा घरमा छन् । एउटी बहिनीको विवाह भइसकेको छ ।
भण्डारीको मृत शरीरलाई प्रिन्स अस्पतालमा परीक्षणको लागि राखिएको बताइएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा नेविसंघ नुवाकोटका पूर्व उपाध्यक्षसमेत रहेको भण्डारी अमेरिकामा स्थायी बसोबास गर्ने सोचले नगएको नेविसंघ नुवाकोटका माधव रिजाल बताउँछन् । ‘अमेरिकामा कुनै विषयमा पीएचडी गरेर नेपालमा सक्रिय राजनीति गर्ने उनको योजना थियो,’ रिजालले भने– ‘मृत्युको खवरले स्तब्ध छु ।’
मिलनसार स्वभावका भण्डारीले माध्यमिक तहसम्मको पढाई गाउँकै महेन्द्र उच्च मावि थानसिंबाट गरेका हुन् । त्यसपछि उनले काठमाडौंमा बसेर एमएडसम्मको अध्ययन पूरा गरे । उनी ग्रामीण आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिसमेत भइसकेका थिए ।
उनलाई नजिकैबाट नियालिरहेका हाम्रो विकास वैंकका सञ्चालक प्रल्हाद पन्त पनि मृत्यु खवरले पीडा महसुस भएको बताउँछन् । ‘अरुलाई विकास, राजनीतिक र जिउने आधार सिकाउँदै हिँड्ने भाइ आफैंले मृत्यु रोज्यो,’ पन्त भन्छन्– ‘नुवाकोटले एउटा होनाहार उर्जाशील युवा गुमाएको छ ।’
‘८/१० वर्ष अमेरिका बसेर केही आर्थिक उन्नति भएपछि नेपालमै सक्रिय राजनीति गर्ने सोचका साथ स्थापित हुनका लागि मात्र विदेश गएका उनी किन कमजोर भए र मृत्युलाई जित्न सकेनन् ? म आफै आश्चर्यमा छु ।’– उनले भने ।
नेपाली कांग्रेसभित्र स्पष्ट देखिएको दुई गुटबाट पार्टीको हित गर्दैन भन्ने भावना बोक्ने भण्डारी दुवै गुटका प्रिय रहेका त्रिशूली खवर साप्ताहिकका सम्पादक ध्रुवकुमार रावल बताउँछन् । उनले जिल्लाभित्रका महत र केसी पक्षीय गुटको राजनीति बन्द गर्न दवाव दिने गरेको रावल बताउँछन् ।
शनिवार नेपालबाट संचालित दैनिक नेपाल डटकम लगायतका अनलाइनहरुले भण्डारीको रहस्यमय मृत्यु भएको खवर प्रकाशन गरेका छन् । तर, उनले मृत्युको बाटो किन रोजे ? रहस्यमय मृत्यु कसरी भयो ? खुलेको छैन । उनको मृत्युको पछाडि पारिवारिक मतभेद र आर्थिक कारण रहेको हुनसक्ने परिवारको आशंका छ
उनको मृत्युमा नेविसंघ नुवाकोटले गहिरो शोक वक्तब्य जारी गर्दै संगठनलाई अतुलनीय क्षति भएको जनाएको छ । संघका अध्यक्ष उत्तम पाठकद्वारा जारी विज्ञप्तीमा शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै परिवर्तनको आन्दोलनमा सक्रिय योद्धा गुमाएको उल्लेख गरिएको छ ।
- See more at: http://dainiknepal.com/2015/01/34375.html#sthash.HRapzbSF.s4OXTNUP.dpuf

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...