Saturday, May 7, 2016

पानीको मुहान नै सुकेपछि काकाकुल बन्यो कर्णाली

खडेरीले पानीका मुहान सुके, रारा पनि आधा मिटर घट्यो
सिमकोट (हुम्ला): श्रीनगर ७ की जाँचु थापाले कर्णालीको पानी खान सुरु गरेको ३ महिना भयो। हुम्लाको तराई भनेर चिनिने तुम्च तलतणीमा बस्दै आएकी थापाले पुस्तौंदेखि प्रयोग गरेको कनेउरीको मुहान सुकेपछि एक घन्टा लगाएर कर्णालीबाट पिठ्यूँमा बोकेको पानीले घर चलाएकी छन्।
गत वर्षसम्म तलतणीका दुई गाउँलाई खान पुगेको उक्त मुहानको पानीले आसपासका खेतमा समेत सिँचाइ गर्न पुग्ने गरेको उनको अनुभव छ। खडेरीले तुम्चको खोलाबाहेकका अधिकांश मुहान सुकेको जानकारी जैर ९ तुम्चका उब्जन मल्लले दिए। उनका अनुसार पाखोमा भएका लेकदेखि औल (बेसी) सम्मका सबै गरी ५ वटा मुहान तुम्चमा मात्रै सुकेका छन्। लामो समय वर्षा नभएकाले खोलाको पानीसमेत यो वर्ष निकै सुकेको छ।
 
तुम्चका तीनवटा जिउला (खेतको फाँट) मा सिँचाइ गर्ने बणखोलाको पानी पनि यो वर्ष आधाभन्दा बढी सुकेको स्थानीय नन्द फडेराले बताए। उनले भने, 'गएका वर्षमा गहुँमा पानी हाल्ने काम फागुन अन्त्यसम्म सकेर पानी खोलामा फाल्ने गरिन्थ्यो। 
 
यो वर्ष गहुँलाई नै सिँचाइ गर्न नपुगेर स्थानीयबीच दिनहुँजसो झगडा भैरहेको छ।' लामो समयको चर्को खडेरीले मैला र मदना गाविसमा मात्रै झन्डै १५ वटा मुहान सुकेको मैलाकी यांजुम रोकायाले बताइन्।
 
गाउँमा भएको खानेपानीको मुहान सुकेपछि मैलाको काँडागाउँ जिमानामा १ गाग्री पानी ल्याउन २ घन्टा पैदल हिँड्नुपर्ने स्थानीय मोतीलाल रिठाल बताउँछन्। उनी भन्छन्, 'गत मंसिरदेखि पानी सुकेपछि घरमा खानेपानी ल्याउन एकजनालाई दिनभरि नै जिम्मा दिने गरिएको छ।'
 
हुम्लाको उत्तरी क्षेत्रमा समेत पानीका मुहान सुकेका छन्। मुचु गाविसको यारीमा खानेपानीको मुहान सुकेपछि स्थानीयलाई खानेपानीको निकै समस्या भएको छ। यारीमा २ किलोमिटर टाढाबाट ल्याएको खानेपानीको मुहान यस वर्ष सुकेपछि एक घन्टाको दूरीमा रहेको झिमझिम खोलाबाट घोडा र झोवामा पानीका ग्यालेन बोकेर काम चलाउने गरेको स्थानीय नाम्ग्याल लामाले बताए। 
 
बुटी लामाका अनुसार मुचुकै तुमकोटमा समेत खानेपानीको मुहान सुकेपछि खोलाको पानी खानुपरेको छ। गाउँमा प्रायः खानेपानीका मुहान सुकेपछि पशुबस्तुलाई समेत पानी खुवाउन निकै समस्या भएको छ।
 
श्रीनगर ६ को घम्कमा भएको मुहान सुकेपछि ६, ७ र ८ का बासिन्दालाई खानेपानीको समस्या भएको जानकारी पूर्वगाविस अध्यक्ष दीपबहादुर महताराले दिए। उनका अनुसार श्रीनगरका साँग्र, मैचे, भुजपानी, बाउढुंगा, कलखिउ छहरा गरी झन्डै १५ वटा मुहान मंसिरयता मात्रै सुकेका छन्।
 
जैर गाविसका राक्स्या, तली पुन्यारा, कुई पुन्यारो, लुमको अमुन्दा खोलालगायत ८ वटा मुहान माघ महिनायता सुकेको जानकारी स्थानीय डिलबहादुर कार्कीले दिए। उनका अनुसार पानीका मुहान सुकेपछि मानिस र पशुबस्तुलाई कसरी पानी खुवाउने भन्ने चिन्ता भएको छ। मुहान सुकेपछि जिल्ला सदरमुकाम सिमकोटमै पानीको समस्या दिनानुदिन बढ्दै गएको छ।
 
पुरानो खानेपानीको मुहान सुकेर निकै कम भएकाले बुराउँसे खोलाबाट ल्याइएको नयाँ मुहानले पनि नपुगेपछि सिमकोट बजारमा पानी वितरण चुनौतीपूर्ण बन्दै गएको सिमकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्ण भण्डारीले बताए। हरेक गाउँमा पानीका मुहान सुकेपछि यो वर्ष हुम्ला कर्णालीको बहावसमेत घटेको छ। 
 
आफूले थाहा पाएदेखि अहिलेसम्म यो वर्ष जति हुम्ला कर्णालीको पानी कहिल्यै घटेको नदेखेको सर्किडेउ रिपका जसबहादुर महताराले बताए।जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्तिसमेत रहेका महताराका अनुसार हुम्ला कर्णालीको पानी सुकेपछि अहिले रिपको बिउबार तलीको खोंच हिँडेरै पार गर्न सकिन्छ। स्थानीय युवा माछा मार्ने झरिउला (पासो) थाप्न जाँदा हिँडेरै हुम्ला कर्णाली वारपार गरिरहेका छन्।
 
डोल्पामा पनि मूल सुके
 
खडेरीले डोल्पासमेत काकाकुल बन्दै गएको छ। अधिकांश साना मूल सुकेपछि स्थानीयलाई खानेपानीको जोहो गर्न निकै कष्ट हुँदै गएको छ। सर्मी गाविसका २ सय घरधुरी, त्रिपुराकोट ७ र ८ का १ सय ५७ घरधुरीका बासिन्दाले परम्परादेखि प्रयोग गर्दै आएका पानीका मूल सुकेपछि बाँकी रहेका तिर्तिरे धारामा पानी भर्ने लाम चौबिसै घन्टा लाग्ने गरेको जानकारी स्थानीय वीरभद्र रोकायाले दिए। 
 
उनका अनुसार सर्मीको ओक्त गाउँको चोखापानीको मुहानसमेत सुकेको छ।उक्त मुहान सुकेपछि स्थानीयलाई खानेपानीको निकै समस्या भएको छ। तिर्पुराकोट गाविसमा २ मुहान सुकेका छन्। 
 
रसी गाउँको झ्या र म्याको मुहान सुकेपछि स्थानीयलाई एक गाग्रो पानी थाप्न पनि निकै सास्ती भएको विष्णु बैजीले बताइन्। उनले म्याको पूरै मुहान सुकेपछि माझगाउँ, डाँडागाउँ र गुम्बागाउँका बस्ती नै सार्नुपर्ने अवस्था रहेको बताइन्।
 
लामो समय पानी नपरेपछि त्रिपुराकोटको रसीको सिमखोला सुक्दा १ सय ५३ घरधुरीले समस्या भोग्नुपरेको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय डोल्पाले जनाएको छ। पानीका मुहान सुक्न थालेपछि मानिस मात्रै नभएर बस्तुलाई समेत निकै समस्या भएको सर्मीका जगबहादुर रोकायाले बताए।
 
डोल्पाका विभिन्न गाउँमा गरेर झन्डै ५० भन्दा बढी खानेपानीका मुहान सुकेको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय डोल्पाले जनाएको छ।
 
मुगुका मुहान पनि सुके
 
गत मंसिरयता मुगु जिल्लामा मात्रै २ सयभन्दा बढी मुहान सुकेका छन्। लामो समयको चर्को खडेरीले जिल्लाभर भएका पानीका मुहानमा ७० प्रतिशतले पानी कम भएको अनुमान जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय मुगुले गरेको छ। 
 
खडेरीको सबैभन्दा चर्को मार परेको सोरु, खत्याड भेगका अधिकांश पानीका मुहान सुकेको जानकारी मुगु भिईका अंगवीर बुमीले दिए। उनका अनुसार पानीको निकै समस्या भएको भिईमा यस वर्षको खडेरीले बचेका सबै मुहान सुकाएको छ।
 
८ गाउँ भएको भिईका अधिकांश बासिन्दा पशुबस्तु लिएर हुम्ला र मुगु कर्णालीको छेउछाउ बसाइँ सर्न थालेका छन्। जिल्लाको जिमामा पनि पानीका मुहान सुकेर स्थानीयलाई खानेपानीको समस्या भएको छ। स्थानीय पदमबहादुर शाहीका अनुसार वडा नं ५, ६ र ७ का बासिन्दाले प्रयोग गर्दै आएको जिमा गाउँभित्रको मुहान र वडा नं ८ र ९ का बासिन्दाले खाँदै आएको सोरुको बन्जाँको नौमुली मुहानसमेत पूरै सुकेको छ।
 
कालै गाविस ५ को पाँच पोल्याको मुहान सुकेपछि कालै ५ देखि ९ नम्बर वडाका बासिन्दाले २ घन्टाको दूरीमा रहेको खोलाबाट पानी बोकेर खानुपर्ने भएको छ। पुस्तौंदेखि प्रयोग गर्दै आएको मूल सुकेपछि मुगु राराको मुर्माका बासिन्दालाई समेत खानेपानीको चर्को समस्या परेको छ। 
 
झन्डै ७५ धरधुरी भएको उक्त गाउँका बासिन्दालाई खानभन्दा ठूलो पिर पानीले पारेको छ। स्थानीय धनसिंह रोकायाले भने, 'खानेकुरा त बरु सिस्नो र कन्दमूल ल्याएर पेट भरौंला तर पानी नै सुकेपछि अब बाँच्न निकै कठिन हुने भयो।'
 
पानीको मुहान सुकेपछि एक घरलाई एक गाग्रो भर्न पालो लगाउँदा रातभर नै जाग्राम बस्नुपरेको छ। रुघामा पनि खानेपानीको उस्तै समस्या भएको छ। १ सय ५२ परिवारको दलित बस्ती भएको रुघामा आधा घन्टाको दूरीमा भएको कुवाको मुहान सुकेपछि १ गाग्रो पानी ल्याउन पनि मुस्किल हुन थालेको छ। 
 
सबै परिवारले ज्यालादारी गरेर खानेकुराको जोहो गर्ने आँट भए पनि पानीका मुहान नै सुकेपछि यस वर्ष स्थानीय जउकली कामीलाई जीवनदेखि निकै आस मरेको छ।
 
पानीको मुहान सुकेपछि सोरुकोट गाउँमा १ जर्किन (ग्यालेन) पानी ल्याउन आधा घन्टाको तिर्सेखोलामा जानुपर्ने बाध्यता भएको स्थानीय पुनी मल्लले बताइन्। पानीका मुहान सुकेको जीवनमा पहिलोपटक देखेकी मल्लले भनिन्, 'यो वर्षको खडेरीले त भोकमरीको भन्दा पनि ठूलो पानीको संकट पार्यो।' 
 
उनले थपिन्, 'औल (बेसी) देखि लेकसम्मका सबै पानीका मूल सुक्न थालिसके। अब कर्णालीको छेउमा जानुबाहेक केही विकल्प हुँदैन कि जस्तो लाग्न थाल्यो।'
 
जिमाको ख्याल्चमा पनि पानीको उस्तै समस्या छ। ८० घर भएको उक्त गाउँमा पुरानो पानीको मुहान सुकेपछि हाहाकारै मच्चिएको छ। चर्को खडेरीले गाउँका साना मूल सबै सुकेपछि रुघा गाउँका ७२ वर्षीय धने भण्डारीलाई कलीयुग लागेको महसुस भएको छ। उनले अन्नपूर्णसँग भने, 'कलीयुगमा अत्याचार हुन्छ भन्थे। यही हो कि ? कहिल्यै नसुक्ने पानीका मुहान धमाधम सुक्न थाले।'
 
साउन दोस्रो सातादेखि पानी नपरेपछि मुगुको पर्यटकीय स्थल रारा तालमा मिसिने झन्डै ६५ वटा पानीका मुहान सुकेका छन्। समुद्र सतहदेखि २९ सय मिटरको उचाइमा रहेको रारामा आउने पानीको मुहान सुकेपछि पहिलोपटक रारा तालको पानी आधा मिटर घटेको जानकारी रारा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खत्रीले दिए।
 
खडेरीले यस वर्ष हिउँदमा राम्रोसँग हिउँ नपरेपछि तालमा जम्मा हुने पानीको मुहान सुक्दा इतिहासमै रारा तालको पानी आधा मिटर घटेको दाबी खत्रीले गरे। तालमा आउने पानी सुकेपछि तालबाट निकास हुने पानीसमेत सुकेको छ। 
 
तालबाट निकास भएको पानी बग्ने खत्याड खोला पनि बिस्तारै सुक्दै गएको छ। तालको पानी सुक्दै गएपछि र कार्कीबाडा गाविसको लेकमा पर्ने झन्डै आधा दर्जनभन्दा बढी पानीका मुहान सुकेपछि स्थानीयलाई खानेपानीको बन्दोबस्त गर्न निकै मुस्किल भएको छ।
 
खलंगामा पनि हाहाकार
 
खानेपानीको स्रोत सुक्दै गएपछि जुम्ला जिल्लाको सदरमुकाम खलंगामा समेत खानेपानीको हाहाकार भएको छ। पानीका मुहान सुकेपछि खलंगाको भण्डारीबाडामा जडान गरिएका धारामा पानी आउनै छोडेको छ। 
 
बजार क्षेत्रको चन्दननाथ नगरपालिका ५ को मालभिर गाउँमा रहेको खानेपानी मुहानको पानी झन्डै २५ प्रतिशतले सुकेपछि बजार क्षेत्रमा यस वर्ष खानेपानीको समस्या भएको हो।
 
खडेरीले जुम्लाको सिँजा र चोधबिस क्षेत्रमा बढी पानीका मुहान सुकेका छन्। कुडाँरी ६ र ७ मा पर्ने ढांग्रेपानीमा खानेपानीको मुहान सुकेपछि गएको वर्ष दिनभर आपूर्ति हुने पानी यस वर्ष दैनिक २ घन्टामा मात्रै सीमित भएको आयोजनाका चौकीदार मानवीर नेपालीले बताए। उनका अनुसार पानीको मुहान सुकेपछि मुस्किलले बिहान १ र बेलुका १ घन्टा पानी दिने गरिएको छ।
 
कुँडारीकै जाँती खोलाको खानेपानी मुहानसमेत सुकेको छ। खेतमा सिँचाइ गर्दै आएको उक्त मुहान सुकेपछि कुँडारी, नुवाकोट, साँपुल्ली र रावतबाडाका बासिन्दाले अन्य विकल्प खोज्नुपरेको छ। कुँडारी १, २ र ३ का बासिन्दाले परम्परादेखि उपभोग गर्दै आएको बिरालीखोला खानेपानी आयोजनाको मुहान पूरै सुकेपछि तीनै गाउँले अहिले तिला नदीको पानी खान बाध्य भएको स्थानीय राम गिरीले बताए।
 
जिल्लाभर ८७ वटा खानेपानी आयोजना भएको जुम्लाका झन्डै ४० आयोजनामा पानीका मुहान सुक्दै गएको खानेपानी तथा सब डिभिजन कार्यालयका प्रमुख अर्जुनकुमार बमले भने, 'लामो खडेरीले जुम्लामा सानाठूला गरेर झन्डै १ सय १५ भन्दा बढी पानीका मुहानमा प्रत्यक्ष असर परेको छ।'
 
कालीकोटमा समेत धेरै खानेपानीका मुहान सुकेपछि किसानलाई समस्या भएको छ। कर्णाली कृषि तथा खाद्य सुरक्षा सञ्जाल कालीकोटका संयोजक कालीबहादुर मल्लका अनुसार कालीकोटको पलाता क्षेत्रमा सबैभन्दा धेरै पानीका मुहान सुकेका छन्। पानीको मुहान धमाधम सुक्न थालेपछि स्थानीय बस्ती स्थानान्तरण हुन थालेको संयोजक मल्लले बताए।

बढ्यो लोडसेडिङ 
 
जिल्ला सदरकुकाम सिमकोटलगायत आसपासका ७ गाविसलाई लक्षित गरेर बनाएको ५ सय किलोवाटको हिल्दुम साना जलविद्युत् आयोजनाले पानी नपुगेको भन्दै दैनिक १८ घन्टाभन्दा बढी लोडसेडिङ गर्दै आएको छ। अत्यधिक लोड भएको बेला ५ सय किलोवाट नै खपत हुने हुम्लाको सिमकोटमा हिल्दम खोलाको पानी सुकेर अहिले १ सय ४० किलोवाट मात्रै विद्युत् उत्पादन हुँदै आएको जानकारी वितरण केन्द्रका निमित्त प्रमुख मानबहादुर रावतले दिए। 
 
हिल्दुम खोलाको पानी अनपेक्षित रूपमा घटेकाले चर्को लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण हुम्लाले जनाएको छ। पानी नपुग्ने भएपछि अहिले उक्त आयोजनामा पानीको सञ्चयका लागि ६ करोडको बजेट व्यवस्था गरिएको छ। 
 
विद्युत् उत्पादन गरेको खोलाको पानी घटेपछि जुम्ला जिल्लाको सदरमुकाम खलंगामा समेत अहिले महिनामा १५ दिन लोडसेडिङ हुने गरेको छ। २१ किलोवाटको जुगाड खोलाको पानी आधाभन्दा बढी घटेपछि उत्पादित विद्युत्ले धान्न नसकेर त्यत्रो लोडसेडिङ गर्नुपरेको साना जलविद्युत् उपभोक्ता समिति खलंगाका अध्यक्ष विष्णुबहादुर बुढथापाले बताए।
नवराज महतारा |
२०७३ बैशाख २१ मंगलवार

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...