Saturday, August 1, 2015

बालक बलि दिनेको बयान-‘घाटी काट्दा सोनु चिच्याउन खोजेको थियो’

प्रहरीको थुनुवा कक्षमा अभियुक्तसँगको कुराकानी

१६ साउन, नवलपरासी । नवलपरासी कुडियाका बालक सोनु कोहारलाई बलि दिँदा सोनुले चिच्याउन खोजेको अभियुक्त कोदई हरिजनले बताएका छन् । अरुलाई बलि दिँदा आफ्नो छोरालाई निको हुँने कथित अन्धविश्वासमा कोदईले छिमेकी बालकलाई बलि चढाएका थिए ।
Sonu-Hatya-aaropi
बालकलाई बलि चढाउने कोदईसहितका अभियुक्त अहिले प्रहरीको चिसो छिँडीमा छन् । कुडिया ४ मर्चहवाका ३५ वर्षीय कोदई हरिजनले गत साउन ५ गते मर्चहावाका १० वर्षीय सोनु कोहारको देउतालाई बलि चढाएको स्वीकार गरिसकेका छन् ।
उनले आफूसहित झाँक्रीहरु सूर्यभान हरिजन, रुदल हरिजन, गंगा हरिजन र छोरा विजय हरिजनले १० वर्षीय बालक सोनु हरिजन देउतालाई बलि चढाएको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीलेे घटनामा अनुसन्धानको लागि हालसम्म ११ जनालाई पक्राउ गरेको छ । बालक सोनुको शव साउन ८ गते आधी घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको पोखरीमा फेला परेको थियो ।
घटनाको आरोपी बालकको बलि दिने (घाँटी काट्ने) आरोपमा पक्राउ परेका अभियुक्तसगँ प्रहरीको थुनुवा कक्षमा पुगेर गरेको कुराकानीमा अाधारितः
अभियुक्त कोदई हरिजन
बालक बलिका मुख्य अभियुक्त
मेरो छोरा विजय हरिजन त्रिवेणी नदीको किनारमा जाँदा त्यसलाई देउता लागेको थियो । त्यसलाई सन्चो बनाउनका लागि मैले मान्छे (सोनु)को बलि दिएको हुँ । मंगलबारका दिन (साउन ५ गते) बिहान मसहित सूर्यभान हरिजन, रुदल हरिजन, गंगा हरिजन मिलेर छोरा विजय हरिजनलाई सन्चो पार्नका लागि झारफुक गर्दै थियौं । झारफुक गर्दा गर्दै विजयले (भुत/देउता) मलाई मान्छेको मासु चाहियो, मलाई बलि चाहियो भन्यो अनि त्यसपछि हामीले झारफुक बन्द गर्यौ र छिमेकी शिवमंगल कोहारको छोरा १० वर्षीय सोनु कोहारको भुत/देउतालाई बलि दिने योजना बनायौँ ।kodai-harijan
त्यही साँझको समय थियो सोनु आफ्नो घर अगाडि खेल्दै थियो । मैले उसलाई बोलाएर १० रुपैयाँको बिस्कुट दिए । अनि त्यसपछि मैले सोनुलाई ५० रुपैयाँको नोट देखाएर फकाउँदै सिवानमा (खुल्ला स्थान, घर भन्दा ९ सय ८५ फिट टाढा) लगे । करिब त्यही साँझको साढे ७ बजेको थियो । अनि त्यहाँ सोनुलाई पल्टायौँ । त्यसपछि सूर्यभान हरिजनले सोनुको खुट्टा समाते, रुदल हरिजनले हात समाते, छोरा विजय हरिजनले कोही मान्छे नआओस् भनी बाटो हेर्दै थिए । अनि त्यसपछि गंगा हरिजनले पूजा गर्नका लागि सलाईको काँटी बालेर कपुर र ल्वाङ्ग जलाएर करिब १ मिनेट जति पूजा गरे । त्यसपछि मैले बायाँ हातले सोनुको मुख छोपे र दायाँ हातले उखु काट्ने हसियाँले (गडासा) सोनुको घाँटी रेटे ।
सोनु चिच्याउन खोजेको थियो तर मैले झन बेस्सरी उसको मुख थिचिदिएपछि उ चिच्याउन सकेन । उसको आवाज बन्द भएपछि हामीले सोनुको शरीरलाई छोड्यौ । घाटी रेटेपछि सोनुको छटपटिरहेको थियो । करिब २/३ मिनेट सम्म पीडाले सोनु छटपटिरह्यो र त्यसपछि उसको मृत्यु भयो । अनि त्यसपछि हामीले सोनुको घाँटी काटेको स्थानदेखि उसको शरीरलाई उत्तर दिशातर्फ लगेर झाँडीको भित्र राख्यौँ र शरिरको माथिबाट खरले पुरेर हतियार (गाडासा) खोलामा फालिदयौँ ।
त्यसपछि हाम्रो शरीरमा लागेको रगत सफा गर्यौँ । त्यसपछि त्यहाँबाट पहिला रुदल हरिजन, सूर्यभान हरिजन र गंगा हरिजन, छोरा वियज हरिजन आ- आफ्नो घर गए र म सबैभन्दा अन्तिममा आफ्नो घर आए । अनि केही समयपछि मैले मेरो श्रीमती कान्ति हरिजनलाई घटनाबारे पुरै कुरा बताए । त्यसपछि मेरो श्रीमतीले मलाई किन यस्तो गरेको भन्दै गालीगलौज गरी । घर आएको आधा घण्टापछि सोनुको परिवारले सोनुलाई खोज्न सुरु गर्यो । त्यसपछि सोनुको परिवारले मैले उनीहरुको छोरा मारेको भन्न थाले र मैले झुठो बोल्दै मैले तपाईहरुको छोरालाई मारेको छैन भने ।
त्यसपछि म सोनुलाई खोज्ने बाहनामा घरबाट भागेर भारतको गोरखपुर गएँ । त्यसपछि बिहीबार गोरखपुरबाट राति १ बजे सिसवा बजार आएँ । अनि बिहान ट्याक्सी चढेर झुलनीपुर पुगेँ । त्यहाँ राखेको साइकल लिएर घर आउँदै थिए ।
बिचबाटोमा एक जना चिनेको मान्छे भेटियो र उसले भन्यो कहाँ गएको थिइस् ? गाउँलेहरुले तेरो घर भत्काइदिएका छन् तँ गाउँ गइस् भने तलाई त्यहाँ मार्छन् आइज मसगँ मेरो गाउँ हिड् । अनि त्यसपछि म त्यो मान्छेको घर पुगेँ । त्यो गाउँमा पनि मान्छेहरुले सोनुलाई खोज्दै थिए । त्यसपछि त्यो गाउँको केही मान्छेहरुले मलाई चिने र मलाई कुटपिट गर्न थाले । कुटपिट गर्दा गर्दै प्रहरी आइपुग्यो र मलाई समातेर यहाँ ल्यायो । यो घटनाका लागि मैले रुदल र सूर्यभान हरिजनलाई ५० हजार रुपैयाँ दिएको थिएँ । मैले काम गरेर बचत गरेको ५६ हजार रुपैयाँ थियो । ६ हजार रुपैयाँ यताउता खर्च भयो अनि ५० हजार रुपैयाँ घटनाबारे कसैलाई नभन्नका लागि मैले उनीहरुलाई दिएको थिए । यो घटनामा हामी ५ जना बाहेक अरु कसैको संग्लनता छैन ।
अभियुक्त गंगा हरिजन
अर्का अभियुक्त
घटनामा मेरो कुनै संग्लनता छैन । मंगलबार (साउन ५ गते) कोदई हरिजनको घरमा बिहान भएको झारफुकमा म उपस्थित भएको थिएँ । तर साँझ हत्या भएको समयमा घटनास्थलमा म गएको थिइन । घटनापछि म भारत गएको थिएँ । गाउँलेहरु बोलाएर गाउँमा आएपछि प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त विजय हरिजन
विरामी रहेका कोदाईका छोरा
म विरामी छु । के भएर विरामी भएको थाहा छैन । भुत/देउता लागेको कारण मान्छेको बलि मागेको थिएँ । वुवा कोदई हरिजन, झाँक्रीहरु गंगा, सूर्यभान र रुदले मिलेर सोन कोहारको बलि दिएछन् । घटना भएको बेला म आफ्नै घरमा थिएँ ।
(विजयका बाबुले भने घटना भएको बेला विरामी भनिएका छोरा विजयले बाहिरबाट कोही आउँछ कि भन्दै बाटो हेर्दै बसेको प्रहरीसमक्ष बयान दिएका छन् ।)
अभियुक्त रमानन्द हरिजन
म घटनामा संग्लन छैन । मैले रुपन्देही तामनगरस्थित काम गर्ने गरेको थिएँ । सो दिन गर्भवती रहेकी श्रीमती बोलाएर घर आउँदा प्रहरीले पक्राउ गरेको हो ।
(मृतक सोनु कोहारको हजुरवुवा परामानन्द कोहारले प्रहरी कार्यालयमा दिएको जाहेरीमा रमानन्द हरिजन नाम किटान गरिएको छ ।)
अभियुक्त कान्ति हरिजन
कोदाईकी श्रीमती
हत्या भएको समयमा म घरमा खाना पकाउँदै थिएँ । श्रीमान कोदाईले हत्या गरेर घर आएपछि मलाई घटनाबारे सुनाएका थिएँ । त्यसपछि मैले उनलाई किन यस्तो गर्नुभयो भन्दै गाली गरेकी थिएँ । घटनामा मेरो कुनै संग्लनता छैन ।
(जाहेरीमा कान्तीको पनि नाम किटानी गरिएको छ ।)
अभियुक्त सुनिता हरिजन
मलाई घटनाबारे केही पनि थाहा छैन । हत्यामा मेरो कुनै संग्लनता छैन । हत्या भएको भनिएको समयमा म खेतमा थिएँ । (सुनिता सुर्यभान हरिजनकी श्रीमती हुन् ) ।

झाँक्रीेले यसरी बलि चढाए हाम्रो सुनजस्तो सोनुलाई !

मृतकका आफन्त भन्छन्- जल्लादहरु गाउँमा नफुर्कन्

 

१४ साउन, नवलपरासी । गत साउन ५ गते नवलपरासीको कुडिया गाविस-४, मर्चहावा गाउँमा हराएका १० वर्षीय बालक सोनु भन्ने जीवन कोहारको ८ गते घर नजिकै पोखरीमा शव फेला पर्‍यो । बालकको बलि चढाएको आरोपमा प्रहरीले झाँक्रीसहित ११ जनालाई पक्राउ गरिसकेको छ ।
यसैक्रममा अनलाइनखबरकर्मीले मृतक सोनुका बुबाआमा, हजुरबुबा, छिमेकी र साथीहरुलाई मर्चहावा गाउँमै पुगेर घटनाबारे सोधपुछ गरेको छ । मृतकका आफन्तले यो कहालीलाग्दो घटनाबारे यसरी सुनाए :
तिनीहरु गाउँमा फर्के भने म जेल जान्छु
शिवमंगल कोहार (सोनुका पिता)
sonu ko buwaम बिहान काम गर्नका लागि भारतीय सीमाना नजिक पथलावामा गएको थिएँ । काम गरेर साँझ घर फर्केपछि सोनु छोरा कहाँ छ भनेर परिवारलाई सोधें । उनीहरुले खेल्न गएको छ, अहिले आउँछ भन्ने जवाफ दिए । त्यसपछि छोरीलाई भनें, जाऊ गएर हेर, कहाँ छ ? कसको घरमा टिभी हेर्दैछ कि ? छोरीले पुरै गाउँमा खोजिन् तर भेटिएन ।
त्यसपछि श्रीमतीलाई खोज्न पठाएँ । उसले पनि छोरो भेटाइन । त्यसपछि हामी श्रीमान श्रीमती दुबैजना मिलेर गाउँभरि खोज्यौँ । तर, भेटाएनौँ । त्यसपछि घरमा रुवावासी सुरु भयो । सबै गाउँलेहरु के भयो सोनुलाई, कहाँ गयो भनी सोध्न थाले ।
गाउँलेहरु सबै मिलेर छोराको खोजी कार्य सुरु गर्‍यौं । ३/४ दिनसम्म खोज्यौँ । छोरोको शव नभेटाएसम्म सबै जनाले खोज्यौँ ।
मैले झाँक्रीहरुको (हत्याको आरोपमा पक्राउ परेका व्यक्तिहरुको ) केही कुरा सुनेको थिइँन । मेरा बुवा र भाइहरुले सुनेका थिए । मलाई त्यसबारे केही जानकारी थिएन । जब छोरो हरायो, वरिपरि खोजेर पनि नभेटाएपछि मेरा बुवा र भाइले आज बिहान झाँक्रीहरुले देउता खेलाएका थिए, तिनीहरुले नै सोनुलाई केही गरेको हुन सक्छ भने । त्यसपछि हामीलाई (झाँक्री ) माथि शंका लाग्यो ।
त्यसपछि गाउँलेहरुले झाँक्री र तिनका परिवारहरुलाई कतै जान नदिई छोराको पुनः खोजी कार्य सुरु गर्‍यौँ । म छोराको खोजीमा लागेका कारण अन्य कुरा मभन्दा मेरो बुबालाई अर्थात सोनुका हजुरबुबालाई थाहा छ । छोराको शव पनि गाउँले भेटेपछि हामी सबैले थाहा पायौँ । गाउँले खेतबाट आउँदै गर्दा शवको दुर्गन्ध उनको नाकमा पुग्यो र त्यसपछि ती गाउँलेले मेरा बुबालाई लिएर गए । र, त्यसपछि बुबाले शव हरेर नातिको पहिचान गर्नुभयो ।
गाउँभरि हल्ला भयो । अनि प्रहरी आएर केही व्यक्तिहरुलाई पक्राउ गर्‍यो र केही भागभाग गर्न थाले । अब तिनीहरु (पक्राउ परेका व्यक्ति) ११ जना छन् र ती सबैलाई फासी नै होस् भन्ने चाहन्छु । तीमध्ये कोही घर नाआउन् । तिनीहरु गाउँमा आए म तिनीहरुलाई मारिदिन्छु र जेल गएर बस्छु । मलाई त्यसमा सन्तोष हुन्छ । तर, सबैलाई मार्छु एकजनालाई पनि छोड्दैन ।
फूलजस्तो बच्चा थियो मेरो । किन मेरो छोरालाई तिनीहरुले मारे ? केही दुशमनी पनि थिएन । कहिल्यै झगडा पनि भएको थिएन । पक्राउ परेका ११ जनासँगै कुनै किसिमको दुश्मनी नै थिएन । किन मारे मेरो छोरालाई ?
त्यसले भन्दै थियो, मान्छेको बलि चाहियो
परमानन्द कोहार (सोनुका हजुरबुबा)
sonu ko hajurbuba parmanand koharमंगलबारको दिन थियो । झाँक्रीहरु आफ्ना स-परिवारको उपस्थितिमा त्यो दिन देउता खेलाइरहेका थिए । शोखाई, झाँक्रीको पुजाआजा गरिरहेका थिए ।
सूर्यभान हरिजन, गंगा हरिजन, रुदल हरिजन, केदाई हरिजन लगायत स-परिवार सबै ११ जना त्यहाँ थिए । त्यसपछि म आफ्नो दोकानबाट आफ्नो घर आएँ । त्यसपछि मैले शेखाई (झाँक्रीको पुजाआजा) हेरेपछि म पनि त्यहाँ बस्न गएँ । उनीहरुले देउता खेलाउँदै थिए ।
जब विजय हरिजनले (हत्याको आरोपमा पक्राउ परेको व्यक्ति) देउता खेलाउँदै, जिउ हल्लाउँदै थियो, तब विजयले मलाई बली चाहियो बली, मान्छेको खून चाहियो भन्दै थियो । त्यसपछि झाँक्री सूर्यभान हरिजनले (हत्याको आरोपमा पक्राउ परेका अर्का व्यक्ति) ठीक छ, म बलि दिन्छु, तर तिमी शान्त भइहाल भन्दै थिए । जब सूर्यभानले मैले मान्छेकै बली दिन्छु, तिमी शान्त भइहाल भने, तब विजय शान्त भयो र जिउ हल्लाउन छाड्यो ।
त्यस लगत्तै सबैजना त्यहाँबाट उठेर गए र म पनि त्यहाँबाट उठेर हिँडे । यो घटना मंगलबार बिहान ८ बजेको थियो ।
जब हामी साँझ खेतबाट आयौँ घरमा नाति फेला नपरेपछि नातिलाई चारैतिर खोज्न सुरु गर्‍यौँ । नाति कतै नपाइएपछि मैले आफ्नो छोरा सोनुको बुबालाई भनें अरे बाबु, एले (सूर्यभान) भन्दै थियो कि मैले मान्छेको बली दिन्छु, कतै बाबुलाई यसैले त केही गरेको छैन ?
त्यसपछि शंकाका आधारमा त्यसको छोरालाई समातेर बसाल्यौँ । यदि त्यसले बलि दिएकै हो कि भनेर त्यसलाई यहीँ बसाल्यौँ । तर, तिनीहरुले त्यसै दिनको (मंगलबार) दिउँसो नै कथा समाप्त पारिसकेको रहेछन् । हामी दिन रात खोज्दै बस्यौँ ।
त्यसपछि बिहीबार कि शुक्रबार फेरि विजय हरिजन देउता खेल्न थाल्यो । त्यसले काम्दै भन्न थाल्यो, भोलि वा पर्सि तेरो छोरा आउँछ, पोखरीनिर (पीडितको घरदेखि ४ सय ९५ फिट टाढाको स्थान)मा खोज्नू ।
कामेर यति भनेपछि उ, फेरि खेल्न थाल्यो । हामीले पनि केही विश्वास गर्‍यौँ । तैपनि हामीले भन्यौँ कि यसलाई यहीँ आफुसँगै राख्नुपर्छ । त्यसपछि सबैले उतै (पोखरी तिर) खोज्न थाले ।
म दोकानमा थिएँ । एकजना गाउँले खेतबाट आएर पोखरीनिर दुर्गन्ध आउँदैछ, भनेपछि मैले भन जाउँ हिडौँ, धेरै जनाले विभिन्न जिवजन्तु मारेर फाल्छन् ।
ती गाउँले सडकमा उभिए र म पोखरीको झाडीमा पसें । अलिअलि पानी थियो, त्यसकारण खुट्टाले बिस्तारी छाम्दै गएँ । पानीबाट गन्ध आइरहेको थियो । उत्तरतर्फ मोडिएर हेर्दा नातिलाई घोप्टो पारेर सुताइएको थियो र आधी घाँटी काटिएको अवस्थामा मेरो नातिको शव फेला पर्‍यो ।
सोनुले उनीहरुलाई पनि आमाबुबा भन्थ्यो
निर्मला कोहार (सोनुकी आमा )
sonu's motherम त्यो दिन खेतमा घाँस निकाल्न गएकी थिएँ । घाँस निकालेर घर आएपछि बाबु (छोरा) म सगँ आउनुभयो । घाम लागेका कारण गर्मी भइरहेको थियो । पंखा लगाएर म सुतें, सोनु बाबु पनि सुत्नुभयो । त्यसपछि घाँस काट्दा र यताउता गर्दा दिउँसोको ३ बजिहाल्यो । अनि मैले सोनु बाबुलाई घरै बस्नु भनेर म खेतमा गएर आउँछु भनेर म खेतमा गएँ ।
यता तिनीहरुले (पक्राउ परेका व्यक्तिहरु) छोरालाई समातेर सबै समाप्त पारे । यदि यस्तो हुन्छ भनेर थाहा हुन्थ्यो भने म छोरालाई सँगै लिएर जान्थें ।
त्यो दिन (घटनाको दिन) पनि कोदई हरिजन (हत्याको आरोपमा पक्राउ परेको व्यक्ति) को श्रीमति मेरो घर आएर त्यहाँ (स्थान देखाउँदै) बसेको थियो । उसको श्रीमती बसिरहेका बेला म घाँस काट्दै थिएँ । घाँस काट्दा काट्दै ३ बजेपछि म खेततिर गएँ । यता मेरो बाबुलाई समातेर काटकुट पारे ।
भिडियो हेर्नुस्
उनीहरुले कतै लगेका थिएन्न बाबुलाई । आफ्नै घरममा काटेका थिए । दाया लागेन, माया लागेन, गाउँघरको बच्चा थियो । तिनीहरुको मुख हेर्न छैन । यति राम्रो मेरो बाबु थियो । तिनीहरुलाई पनि सोनुले बाबा आमा भन्थ्यो । एकदमै घर जस्तै थियो ।
काट्ने बेलामा उनीहरुले मेरो छोरोको मलिनो अनुहारसमेत देखेनन् । ती हत्याराहरुलाई छाड्नु हुँदैन । दुश्मनी पनि केही थिएन । यदि तिनीहरु मध्ये एकजना पनि छुटेर गाउँमा आए जसरी मेरो बाबुलाई काटेका थिए, त्यसरी नै हामी पनि तिनीहरुलाई काट्छौँ, छाड्दैनौँ ।
सँगै खेल्थ्यौं, झगडा गथ्यौं, अहिले रुन मन लाग्छ
जितेन्द्र कोहार (सोनुका साथी)
sonu ko saathi jitendra koharसोनु र म खेतमा सँगै दिशा गर्न जान्थ्यौँ । सँगै पिसाब फेथ्याैँ । सँगै घुम्न र पढ्न जान्थौँ । सँगै खेल्थ्यौं । झगडा गथ्यौँ अनि तुरुन्तै बोल्थ्यौँ ।
एकपटक मन्दिरनिर दुवैजना लड्दै थियौं अनि त्यसको गन्जी च्यातिएपछि हामी दुवैजना लड्न छाडेर हाँस्न थाल्यौँ । गल्ती भयो भनेर एकपटक दुबै जनाले कान समात्थ्यौँ । खेतमा पनि सँगसँगै काम गर्न जान्थ्यौँ ।
तर, अहिले मलाई रुन मन लाग्छ । अब एक्लै विद्यालय जादाँ पनि डर लाग्छ ।
त्यो दिन सोनु घरमै रहेको दोकानमा थियो । त्यसपछि घर नजिकैको आँपको रुखमा झलुवा खेल्न आएको थियो । त्यसपछि तिनीहरुले (हत्याको आरोपमा पक्राउ परेका व्यक्तिहरु) सोनुलाई आफ्नो घरमा लगे । त्यसपछि तिनीहरुले सोनको बलि दिए । हत्यारा हुन् तिनीहरु ।
तिनीहरुले  सोनुलाई अनार दिएर बोलाएका थिए । बिस्कुट दिएका थिए, मासुभात खुवाएका थिए । तिनीहरुलाई कडाभन्दा कडा सजायँ हुनुपर्छ, यता आए गाउँभरि मिलेर तिनीहरुलाई मारिदिन्छौँ ।
स्कुलमा सँगै चना मटर खान्थ्यौं
प्रियंका कोहार, सोनुकी साथी
sonu ko arko saathi priyanka koharहामी सोनुसँग सँगै पढ्न जान्थ्यौँ, सँगै घर आउँथ्यौँ । सोनु दुई कक्षामा पढ्थ्यो । हामी ३ कक्षामा पढ्थ्यौँ । सोनु पास भएपछि ३  कक्षामा गयो र सोनुकी दिदी प्रिया ३ कक्षामै फेल भई । हामी ३ कक्षाबाट पास भएर ४ कक्षामा गयौँ । त्यसपछि सोनु र सोनुकी दिदी एउटै ३ कक्षामा पढ्थे ।
मंगलबारको दिन म पढेर आएपछि सोनुका हजुरबुबाले घरमै रहेको दोकान चलाउँदै थिए । त्यसपछि हजुरबुबा सुते । त्यसपछि तिनीहरुले सोनुलाई मारिदिए । हत्याराहरुलाई कडा भन्दा कडा सजायँ हुनुपर्छ कहिले जेलबाट नछुटुन् तिनीहरु । तिनीहरुले तीन जातिका बच्चाहरुलाई मारेका छन् ।
पक्राउ परेको सबै ११ जनालाई सजायँ होस् । तिनीहरु यता कहिल्यै नआउन् । जेलबाट आएपछि हामीहरुले तिनीहरुलाई मारदिन्छौँ ।
पहिला हाँस्दै, डुल्दै सँगसँगै विद्यालय पढ्न जान्थ्यौं । तर, अब एक्लै विद्यालय पढ्न जान डर लाग्छ । विद्यालयमा चनामटर पाइन्थ्यो, सँगै बसेर खाएर खेल्न थाल्थ्यौँ । अनि छुट्टी भएपछि सँगै घर आउथ्यौँ । हामी झगडा गरे पनि सँगै विद्यालय जाने र आउने गर्दथ्यौँ ।
जल्लादहरु गाउँमा नआउन्
दुर्गावती हरिजन (छिमेकी)
chimeki durgawati harijanसुनजस्तै थियो सोनु । निकै असल स्वभाव र सोझो थियो । कोहीसँग झगडा गर्थेन । सोनुलाई पिटे पनि ऊ केही बोल्दैनथ्यो । उसको परिवार पनि निकै सोझा छन् । तर, हत्याराहरुले त्यो सुनजस्तो बच्चाको बली चढाइदिए ।
हत्याराहरुलाई कडाभन्दा कडा सजायँ हुनुपर्छ । यस्ता जल्लादहरु गाउँमा नआए हुन्छ, हामीले तिनीहरुलाई गाउँमा राख्दैनौँ ।
आजकल हामीलाई डर लाग्छ । अस्ति त्यस्तो भयो, के थाहा भोलि हाम्रा छोराछोरीको साथमा यस्तै होला । त्यसैले यस्ता जल्लादहरुलाई कडा भन्दा कडा सजायँ हुनुपर्छ ।

 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home