Sunday, September 25, 2016

भत्ता दिया हिउँदको लागी तातो जाकेट किन्या थियाँ !

नवराज महतारा
असोज ८, सिमकोट ।  सिमकोटः हुम्ला सदरमुकाम सिमकोटनजिकैको डाँडाफया-२ की ६२ वर्षीया नानीकला शाहीले कपडा नकिनेको असारमा दुई वर्ष भयो । घरमा आफन्त नभएकी शाहीले विगतमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताले वर्षको एकसरो कपडा गाउँमै किन्थिन् । तर दुई वर्षयता भत्ता नपाएपछि च्यातिएको पुरानै कपडा गाँठो पारेर जसोतसो आङ ढाकेकी छन् उनले ।
भावुक मुद्रामा भेटिएकी शाहीलाई फाटेको कपडाले यो हिउँदको जाडो कसरी काट्ने भन्ने चिन्ताले निकै पिरोलेको छ । बिहानबेलुका छाक टार्न पनि धौ-धौ भएको बताउने शाहीको घरमा रासन पनि सकिँदै गएको छ ।
खानेतेल सकिएर किन्ने पैसा नभएपछि एक महिनायता बारीबाट ल्याएको सागपात पानीमै उसिनेर छाक टार्ने गरेकी छन् । गाविसमार्फत सरकारले दिने सामाजिक सुरक्षा भत्ताबापतको रकमले लगाउने कपडा थप्ने, चुलो बाल्ने र अन्य गर्जो टार्ने नानीकलाको योजना दुई वर्षयता पूरा हुन सकेको छैन ।
एक दशकअघि छोरो र पति गुमाएकी नानीकलाकी एकमात्र छोरी पनि बिहे गरेर ज्वाइँसँगै गइन् । एक्ली भएपछि सरकारले दिने सामाजिक सुरक्षा भत्ता उनको बुढेसकालको सहारा बन्दै गएको थियो । सुरुमा एकल महिलाले पाउने भत्ता र तीन वर्षयता जेष्ठ नागरिकले पाउने भत्ता पाएकी शाहीलाई बाँच्न यो सहारा भएको थियो । हरेक वर्ष गाविस सचिवले जिल्ला विकास समितिबाट रकम निकासा गरेर घरमै दिने गरेको भए पनि गएको आर्थिक वर्षदेखि रकम नआएको भन्दै असहाय भत्ता रोकिएको छ ।
गाउँमा सचिव आएका बेला रकम माग्न जाँदा उल्टै हकार्ने र सरकारले यो वर्ष माथिबाटै रकम नदिएको भनेर टार्ने गरेपछि सरकारदेखि नै रिसाएकी नानीकलाले भनिन्, ‘कुनै वर्ष पुइसा (रकम) दिएर हाम्बो बानी बिगार्ने राजा पनि (सरकार) पनि रैतीकन (जनतालाई) टोट्याउँदो (ठटट गर्दो) रछ । सुरुदेनि नै नदियाको भया हामी कि मरिजानाउ कि गरी खानाउँ तर अलिहे आएर नदिन्या सरकारकन हाम्बो श्राप लाग्न्या हो ।'
जिविसको अभिलेखमा भने नानीकलाले नियमित रूपमा रकम प्राप्त गरेको विवरण छ । सामाजिक सुरक्षा भत्ता खानेको सूचीको ३१ नम्बरमा नाम भएकी नानीकलाको रकम जिविसबाट वार्षिक ६ हजारका दरले गाविसमा निकासा भएको देखिन्छ । जिविसको अभिलेखअनुसार २००३ चैत ३० गते जन्मेकी शाहीले नियमित रूपमा वार्षिक ६ हजार पाउनुपर्ने जिविस सूचना अभिलेख शाखाकी अधिकृत ममता महत बताउँछिन् ।
डाँडाफया–२ की धनमती सिहंले पनि गत वर्षदेखि सरकारले दिएको सामाजिक सुरक्षा भत्ता पाएकी छैन्न । सरकारले वृद्धवृद्धाका लागि दिएको रकमको आसले घरमा आफूले पनि केही सम्मान पाउने गरेको बताएकी सिंहले यस वर्षदेखि गाविस सचिवले उक्त रकम नदिएपछि घरका परिवारबाट समेत केही फरक व्यवहार पाएको बताइन् ।
सरकारले दिएको रकम पाएको वर्ष आफूले वर्षको एकजोर नयाँ कपडा पाउने र दैनिक खानामा समेत केही फरक पाउने अनुभव गरेकी सिंहले भनिन्, ‘काम गर्न नसक्न्या उमेरमा सरकारले दया गरी हामीकन दियाको रकम पोर (गएको वर्ष) देखि दियाको नाई ।
पइला (पहिले) तुम्बो भत्ता खान्या बेला भएको नाई भनी ढाँट्या, पछि नागरिकता हेरिकन गाउँका अरूले उमेर पुग्याको भन्या पै अनि दियाका हुन् । पहिलो वर्ष (०७१ सालमा) ६ हजार दिए ।' उनले ०७२ सालमा माथिबाटै रकम नआएको भन्दै चार हजार रुपैयाँमात्रै दिएको बताइन् ।
 आफू सिमकोट जान नसक्ने बताएकी धनमती आफ्नो भत्ता बीचमै खानेलाई सराप्दै देवताको माडु (थान) जाने योजनामा छिन् । सिहंको नाममा पनि जिविसको सूचीमा गएको तीन वर्षदेखि नियमित रूपमा रकम निकासा भएको छ ।
खगालगाउँ गाविसका ६४ वर्षीय सोनाम ग्याल्जन लामाले पनि यो वर्षको सामाजिक सुरक्षाबापतको रकम पाएका छैनन् । गत वर्ष ६ हजार रुपैयाँ पाएका लामाले यस वर्ष चार हजार रुपैयाँमात्रै पाएको बताए । गत साउन अन्तिम साता गाउँमै आएका सचिव नन्दबहादुर रावतले रकम जिल्लाबाटै कटौती गरेर आएकाले कम भएको भनेपछि आफू चुप लागेर बसेको उनले बताए ।
खगालगाउँ केर्मीकै ८० वर्षीय पाले लामाले पनि यस वर्ष ६ हजार रुपैयाँमात्रै पाएका छन् । सरकारले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई वर्षको १२ हजार रुपैयाँ दिने गरेको सुनेका उनले अहिलेसम्म पूरा रकम पाएका छैनन् । डाँडाफया र खगालगाउँमा मात्रै होइन, स्याँडामा पनि सामाजिक सुरक्षाबापतको पूरा रकम वितरण गरिएको छैन ।
भत्ता पाउने भएको पहिलो वर्षमात्रै ६ हजार पाएको बताएका स्याँडा गाउँका रन बुढाले त्यसपछिका कुनै वर्ष पनि पूरा रकम नपाएको बताए । माथिबाट कम रकम आउने गरेकाले कम भएको गाविस सचिवले भनेपछि स्याँडाका सबै जेष्ठ नागरिकले चित्त बुझाएर बसेको उनी बताउँछन् ।
स्याँडामा सामाजिक सुरक्षा भत्ता पाउनेको तीन सय ९६ जनाको सूचीमा एक सय ३७ क्रमसंख्यामा नाम भएको बुढाले नियमित रूपमा वार्षिक ६ हजार पाएको उल्लेख छ । तर आफूले यस वर्ष पाएको चार हजारमा पनि ८० रुपैयाँ गाविस सचिवले नागरिकताको फोटोकपी गर्ने भन्दै फिर्ता लगेको उनले दुःखेसो गरे ।
जिल्लाको उत्तरी क्षेत्रका गाविसमा अन्नपूर्ण पोस्ट्ले सामाजिक सुरक्षा भत्ता वितरणको प्रभावकारिताका विषयमा गरेको स्थलगत अध्ययनमा स्थानीय जेष्ठ नागरिकको भनाइमा गाविस सचिवले भने आनाकानी गरेका छन् । गत आर्थिक वर्षको रकम वितरण नगरेको डाँडाफया गाविसका सचिव रामप्रसाद देवकोटाले उक्त रकम आफूले व्यक्तिगत काममा खर्च गरेकाले छिट्टै वितरण गर्ने संक्षिप्त प्रतिक्रिया दिए ।
उता अपुग रकम वितरण गरेको आरोप लागेका खगालगाउँका गाविस सचिव नन्दबहादुर रावतले रकम पाउने व्यक्तिको नाम धेरै तर रकम कम भएका कारण त्यस्तो भएको बताए । जिविसले भने सचिव रावतको भनाइ सही नभएको बताएको छ । जिविसको सामाजिक सुरक्षा भत्ता खानेको सूचीमा नाम भएका जेष्ठ नागरिक सबैको रकम गएको सूचना शाखाकी अधिकृत ममता महतले बताइन् ।

रकम वितरणमा दुई भरपाई

पटकपटक व्यापक अनियमितता भएको सुनिने सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सचिवले दुईथरी भरपाई तयार पार्ने खुलेको छ । गाविस सचिवले कसैलाई पूरा भत्ता र कसैलाई कम भत्ता दिने गरेको उत्तरी गाविसका एक कर्मचारीले बताए ।
ती गाविस सहायकका अनुसार सचिवले गाउँका ठालुभलद्मीका आफन्तको रकम जस्ताको तस्तै बुझाउँछन् भने जसको आवाज उठाउने मान्छे छैन, उनीहरूलाई कम रकम दिएर भरपाई गराउँछन् ।
विगतमा हतारको नाममा रकम उल्लेख नगरी हस्ताक्षर गराउने गरेका गाविस सचिवले गाउँमै किन खालीमा हस्ताक्षर गराएको भन्दै स्थानीयबाट विरोध उठेपछि अहिले दुईखाले भरपाई प्रयोग गर्न थालेका छन् । गाउँलेसँग कम रकमको भरपाईमा हस्ताक्षर गराए पनि पछि त्यही आधारमा जिविसमा पूरा रकमको अर्कै भरपाई सचिवहरूले बनाउने गरेका छन् ।

छानबिन गर्न समिति गठन

सामाजिक सुरक्षा रकम वितरणमा व्यापक अनियमितता भएको भनिएको डाँडाफया र स्याँडा गाविसको वास्तविक अवस्था छानबिनका लागि हुम्ला जिविसले शाखा अधिकृत रामप्रसाद अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
स्थानीय बासिन्दा र सञ्चारमाध्यममा कतै रकम वितरण नभएको त कतै कम वितरण भएको भन्ने गुनासो आएपछि कार्यालयले वास्तविकता थाहा पाउन उक्त समिति गठन गरेको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले बताए । एक महिनाको समय दिएर गठन गरिएको समितिको प्रतिवेदन नआउन्जेल केही बोल्न नसक्ने जोशीले बताए ।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...