अंश बाडफाँड
ज्वरोले च्यापेर सिकिस्त बनाएको बेला
आमाले रुदै तँलाइ च्यापेर सुतेको दिन ?
तर आज अंश माग्दा
तैले आमाको काख माग्न सकिनस् ।
नभए आज अंश माग्दै गर्दा
बा को काँध कसरी छुटाउँथिस होला र ?
जुन काँधमा चड्न
तेरो र मेरो झगडा पर्ने गर्थ्यो ।
मैले चाहिँ कसरी भुल्न सके होला है
तलाइ शहरमा राखेर पढाउँदा
बेशीको तिन रोपनी जग्गा बेचेको ?
तेरो बिहे खर्चको लागि
पाखोबारी सस्तैमा बेचेको ?
कुराउनी कोर्दै गर्दा
बाहिरबाट मलाई चुकुल लगाइदिएर
तँ नै भान्सामा छिटो पुग्थिस
तर आज ,
बा लाई दमले गार्हो पार्यो भन्दा
तँ तेरै घरको ढोकाको
भित्रबाट चुकुल लगाएर बसेको छस
अनि आइपुगेको छस्
बा को सास गएपछि
सबैभन्दा अन्तिममा ।।
मेरो बिहेमा
माथ्लो घरको बस्नेत दाइको कोट
र
तल्लो घरकी थपिनी भाउजूको सुन
पैचो मागेर
मैले मेरो बिहे उतारेको दिन
याद त मलाई त्यो पनि छ
तेरो बिहेमा तीन तोलाको सुन
दुईवटा खसी
चारवटा गाडी
तेरो बिहेमा तँ खुशी भइनस सायद ,
जति तेरो बिहेमा म खुशी भएँ ।
मिस्री बाँडेको दिन
आमाले कान्छाले खाओस भन्नू हुन्थ्यो
अनि तँ मुख चबाउँथिस
तर गुलियो मलाई हुन्थ्यो
आज तैले अंश माग्दा
मेरो माया अलिकति दे किन भनिनस ?
तैले परालको कुन्युमा अन्जानमै आगो लगाइस
बा लाई मैले हो भनेर
बा को पिटाइ मैले सहे
तर
आज अंश माग्दै गर्दा
त्यो दिनको पराल लान्छस दाइ भनेर किन सोधिनस ?
सम्पति लिएर गइस
अनि मैले आमालाई पाल्ने होइन
आमा सँगै बस्ने सौभाग्य पाए
ए शहरमा बसेर वकिल पढेको मेरो भाइ
अब त आफै भन त
यो रगतको युद्धमा
मैले जिते कि तैले जितिस ???
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home