Wednesday, August 16, 2017

हवाई टिकट नपाउँदा सर्वसाधारणलाई सास्ती

नवराज महतारा मंगलवार, साउन ३१, २०७४



सिमकोट: हुम्ला रोडिकोटकी निरुता शाहीको सुत्केरी हुने समय भदौ १ गतेलाई दिइएको छ। घरमा सुत्केरी हुन समस्या भएपछि तीन दिन पैदल हिँडेर सिमकोट आएकी निरुताले नेपालगन्ज जान टिकट खोजेको नौ दिन भयो। तर अझै उनले टिकट पाउने÷नपाउने ठेगान छैन। काखमा चार वर्षकी जेठी छोरी बोकेर हरेक दिन सिमकोट विमानस्थलमा गए पनि अन्त्यमा टिकट नपाएर फर्कनुपरेको छ।
साउन ३२ गते मलेसियाको टिकट काटेका सर्केघार्ड गाउँपालिकाको रोडिकोट फटाकाल्नाका सब्बल छत्याल पाँच दिनदेखि टिकट नपाएपछि मलेसियाको टिकट छुट्ने चिन्तामा छन्। घरबाट आएदेखि हरेक दिन विमानस्थलमै बिताएका छन्त्याल केही गरे पनि नेपालगन्ज झर्ने हवाई टिकट नपाएपछि तारा एयरको कार्यालयबाहिर रोइकराइ गरिरहेका छन्।
कार्यालयको कामका लागि नेपालगन्ज जाने तयारी गरेका खार्पुनाथ गाउँपालिका सचिव रामबाबु यादवले पनि सिमकोट विमानस्थलमा कुर्न थालेको चार दिन भयो। चार दिनयता बिहान ७ देखि अपराह्न ५ बजेसम्म सिमकोट विमानस्थलमै बिताउने गरे पनि टिकट नपाएका यादव अझै टिकट पाउने आसमा पर्खिरहेका छन्।
निरुता, छन्त्याल र यादव त हुम्लाबाट हवाई मार्ग हुँदै बाहिरिने हवाई टिकट नपाएर हैरानी खेपेका प्रतिनिधि पात्र मात्रै हुन्। हवाई यातायातको एक मात्रै विकल्प भएको हुम्लामा निजी विमान कम्पनीले स्थानीय यात्रुभन्दा भारतीय पर्यटकलाई प्राथमिकता दिएपछि बिरामी र काम विशेषले जिल्लाबाट बाहिर जान तयार स्थानीय हप्तौंदेखि सिमकोट विमानस्थलमै अलपत्र छन्।
जिल्लाका स्थानीय यात्रुभन्दा कैलाश मानसरोवरको दर्शन गर्न आएका भारतीय तीर्थालुबाट बढी रकम पाइने भएपछि निजी विमान कम्पनी तारा एयर, सीता एयर, समिट एयरलगायतले तँछाडमछाड गरी भारतीय तीर्थालुलाई मात्रै टिकट दिन थालेपछि स्थानीय यात्रुलाई निकै समस्या परेको रोडिकोटका प्रकाश शाहीले बताए। जिल्लाका स्थानीयलाई टिकटमा विमान कम्पनीले सिन्डिकेट नै लगाएको उनको भनाइ छ। ‘सबै विमान कम्पनीले टिकट छैन मात्रै भन्छन् । केही सीमित ट्राभल एजेन्सीको फोनका आधारमा सबै टिकट रोकेर स्थानीयलाई पन्छाउने काम हुन्छ’, उनले भने।
अरूबेला स्थानीय सामग्री र यात्रुमै निर्भर हुने निजी विमान कम्पनी भारतीय तीर्थालु आएको बेला हरेक वर्ष स्थानीय यात्रुलाई समस्यामा पार्ने गरेको मुक्ति लामिछानेले बताए। पछिल्लो समय विमान कम्पनीहरूले कार्यालयभन्दा विमानस्थलको रनवेबाट मात्रै टिकट काट्ने गरेको उनको भनाइ छ। विमानस्थल सुरक्षाले सर्वसाधारणलाई विमानस्थलको गेटभित्र छिर्नसमेत नदिने गरेको रोडिकोटकी शाहीले बताइन्।
केही गरे पनि टिकट नपाएपछि सुत्केरी हुने दिन आउँदासमेत नेपालगन्ज जान नपाएपछि आफ्नो ज्यानै जोखिममा परेको उनको भनाइ छ। वैदेशिक रोजगारका लागि मलेसिया जाने तयारी गरेका सब्बल छन्त्याल नेपालगन्ज जाने हवाई टिकट नपाएपछि काठमाडौंदेखि साउन ३२ गते मलेसिया उड्ने टिकट छुड्ने चिन्ताले खाना खानसमेत मन नलागेको बताउँछन्।
भारतीय पर्यटकको चापका कारण स्थानीयलाई टिकट दिन नसकिएको तारा एयर हुम्लाकी प्रमुख सरिता लामाको भनाइ छ । स्थानीयको नाममा प्रशासन र सुरक्षा निकायका आफन्त जाने गरेको उनले बताइन्। हरेक उडानमा तीन जना स्थानीयलाई टिकट दिने गरेको र आइतबार मात्र प्रशासनको नाममा सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाका श्रीमती र छोराछोरीसहित गृह मन्त्रालयबाट आएका सातजना पठाइएको उनको भनाइ छ।
प्रशासन र गृहको नाममा मानसरोवरको दर्शन गर्न परिवार ल्याउने सरकारी अधिकारीका व्यवहारले जिल्लाका बिरामी र अत्यावश्यक काममा जानुपर्ने यात्रुलाई सकस भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराले बताए।

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...