झापा विद्रोहमा के थियो उनको भूमिका ? कसरी बाँचे उनी सुखानीका सहीद बन्नबाट ? १४ वर्षे जेलजीवनलाई कसरी सम्झनछन् उनका सहयात्री ? गण्डकी–लुम्बिनीमा किन छ उनको चर्को प्रभाव ? उनले आफ्ना कुन दुई बानी सुधार्नुपर्छ अब सफल हुन ?
नवौं महाधिवेशनबाट प्रभावशाली नेता केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री तथा एमालेका पूर्वमहासचिव माधवकुमार नेपाललाई ४४ मत अन्तरले पछि पार्दै ओली अध्यक्ष भएपछि राष्ट्रिय/अन्तराष्ट्रिय क्षेत्रबाट बधाई थापिरहेका छन् ।
एमाले अध्यक्षमा ओलीको विजयसँगै राजनीतिक रंगमञ्चमा सरकारको आयु र संविधान निर्माणजस्ता विषयमा अनेक चर्चा/परिचर्चा मात्र सुरू भएका छैनन, उनको पारिवारिक पृष्ठभूमि, राजनीतिक आवद्धता, त्याग, प्रजातान्त्रिक छवी आदि बारे पुनः एक पटक स्मरण सुरू भएको छ । यी यावत पक्षहरूमा ओलीको तस्विर के हो त ?
०२८ साल जेठ २ गतेबाट सुरू भएको झापा बिद्रोहका प्रमुख योजनाकार तथा तत्कालिन सचिव राधाकृष्ण मैनालीका अनुसार झापा बिद्रोह सुरू हुँदाओली त्यस बिद्रोहका सर्मथक थिए, पूर्णकालिक भइसकेका थिएनन् । झापा बिद्रोह सुरू गर्न विरेन राजवंशीको नेतृत्वमा स्क्वायड बनाइएको २३ औं दिन जेठ २ गते ज्यामिरगढीका कर्णबहादुर गौतम विरुद्ध पहिलो धावा बोलेर बिद्रोह सुरू भएको थियो । त्यसबेला घैलाडुवा माध्यामिक विद्यालयबाट एसएलसी दिएर बसेका ओली रामनाथ दाहालसँगै बिद्रोहको प्रचारमा खटेका थिए ।
ओली हाल तेह्रथुम जिल्लाको आठराई क्षेत्र अन्र्तगत पर्ने युआ गाविसमा २००८ सँल माघमा जन्मिएका हुन् । संयोग के भने झापा बिद्रोहका अर्का चर्चित पात्र सीपी मैनाली र ओली एकै सालका हुन् । यस हिसावले झापा बिद्रोह सुरू हुँदाभर्खर उनीहरूको जु“गाको रेखी बस्दै थियो अर्थात् २० वर्ष मात्र टेक्दै थिए ।
०१२ सालतिर ओलीका बुवाले झापास्थित कन्काइ नदी किनारमा तीन बिगाह जमिन खरिद गरेर तेह्रथुमबाट बसाई सरेका थिए । तर, ०१४ सालसम्म आईपुग्दा कन्काईको बाढीले सबै जमिन बगाएर सुकुम्वासी बनाई दियो । यसरी एकातिर बसाइ सरेको दुई/तीन वर्ष नपुग्दै ओली परिवार सुकुम्वासी बन्न पुगेको थियो भने अर्कातिर झापा बसाई सर्दासम्म ओलीले आमाको माया गुमाईसकेका थिए । डेढ वर्ष पुग्दा नपुग्दै ओली मातृमाया बञ्चित भएका थिए । यसर्थ ओलीको लालनपालनको जिम्मा हजुरआमा र बडाबाले लिए । आमा बितेको केही समयपछि नै बाबुले अर्को विवाह त गरे नै, बाढीले जग्गा बगाई दिएपछि अन्यत्रै सरे ।
कन्काईले बडाबाको जग्गा भने बगाएको थिएन । त्यसैले ओलीलाई बडाबाले आफूसँगै राखे । मैनाली ओलीको अतित स्मरण गर्दै भन्छन्, ‘ओली बडाबाको घरमा हजुरआमाको काखमा हुर्किएका हुन् । सानैदेखि उनी खरो बोल्थे र चलाख थिए ।’
बडाबाको घरमा बसेर पाँच/छ कक्षा पढदै गर्दा ओलीलाई रामनाथ दाहाल (०२९ साल फागुन २१ गते सुखानीको जंगलमा हत्या गरिएका सहिद)ले थप पढाउने गरी झापाको चारपानेस्थित आफ्नो घरमा ल्याए । सानै भए पनि चलाख र तेजिलो देखेर रामनाथले उनलाई जिम्मा लिएका थिए । यसपछि रामनाथले ओलीलाई आफ्नो घर नजिकैको घैलाडुब्बा माध्यामिक विद्यालयमा भर्ना गरिदिए । तेह्रथुममा पनि उनीहरूको घर वल्लो/पल्लो गा“उमा पर्दथ्यो । रामनाथको संरक्षणमा पुगेपछि नै ओलीको मस्तिष्कमा राजनीतिक रङ पोतिएको थियो । तेह्रथुमबाट झापा नझर्दै रामनाथ स्थानीय शिक्षक वल्लभमणि दाहालमार्फत् कम्युनिष्ट प्रभावमा पुगिसकेका थिए । झापा झरेपछि पनि सुवेदारका छोरा र प्रशस्तै जग्गा भएकाले रामनाथको हाईदुहाई ठूलै थियो । तिनै रामनाथले आफ्नो संरक्षणमा बसेका ओलीलाई कम्युनिष्ट राजनीति र झापा बिद्रोहप्रति आर्कषित गराएका थिए । उनीबारे जानकार झापाका एक नेता भन्छन्, ‘रामनाथ दाहालकै प्रभावले ओली कम्युनिष्ट राजनीतिमा आएका हुन् । यदि रामनाथको प्रभावमा पुग्दैनथे भने उनी के हुन्थे भन्न सकिन्न ।’
संयोग के भने आफू पक्राउ परेको दिन रामनाथले नै ओलीलाई प्रहरीको गिरफ्तारीबाट जोगाएका थिए । रामनाथ र ओली दुवैसँगै पक्राउ परेका हुन्थे भने उनीसँगै ओलीलाई पनि तत्कालिन सत्ताले हत्या गर्न सक्थ्यो । जानकारहरूका अनुसार झापा बिद्रोहको राप र ताप चर्कदै गएपछि प्रहरीले रामनाथ दाहाल, राधाकृष्ण मैनाली, सिपी मैनाली, विरेन राजवंशी, नेत्र कुँइकेल, जिवन घिमिरेहरूलाई खोजिरहेको थियो । रामनाथ पूर्णकालिन भइसकेका थिएनन । प्रहरी आएको बेला ओल्टोकोल्टो लागेर गिरफ्तारीबाट जोगिदै थिए । पक्राउ पर्ने दुइ/चार दिन अघिदेखि भने रामनाथले नजिकैका प्रेम ओलीको घरमा सेल्टर लिएका थिए । जहा“ उनले ओलीलाई पनि सँगै राखेका थिए ।
०२९ साल मंसीर दोस्रो साताको दिन थियो । दुई/चार दिनदेखि बाहिरै भएकाले त्यस दिन रामनाथ घर जान चाहे । आफूसँगै रहेका ओलीलाई साथै लिएर उनी घर गए । तर, अलिवरैबाट घरमा प्रहरी बसिराखेको देखे । त्यो देख्नासाथ तर्किएका हुन्थे भने त्यस दिन पक्राउ पर्नबाट जोगिन सक्थे । तर, रामनाथले ओलीलाई ‘तिमी भाग । प्रहरी किन आएको रहेछ । म बुझेर आउँछु’ भन्दै घरमा गए । रामनाथकै खोजीमा रहेको प्रहरीले उनलाई तुरुन्तै गिरफ्तार गर्यो । रामनाथले नै भगाएका कारण ओली भने पक्राउ पर्नबाट जोगिए ।
रामनाथ पक्राउ परेकै दिनबाट ओली पूर्णकालिन कार्यकर्ताका रूपमा भूमिगत भए । भूमिगत हुनुअघि नै रामनाथ मातहत रहेर घैलाडुबा एरिया कमिटी तथा विद्यार्थी फाँटमा काम गर्ने गरी ओलीलाई सदस्यता र जिम्मेवारी दिइएको थियो । भूमिगत भएलगत्तै झापा बिद्रोहको नेतृत्व परिवर्तन गरेर ओलीलाई सचिव बनाइयो ।
उनलाई सचिव बनाउनुभित्र रमाइलो संयोग छ । त्यसबेला राधाकृष्ण मैनालीलाई क्षयरोगले सताएको थियो । रातभर हिँडेर तोकिएको स्थानमा बैठक राख्न पुग्दा उनी खोकी र ज्वरोले थला परिसकेका हुन्थे । अरुका कुरा सुन्न र आफ्ना कुरा राख्न पनि नसक्ने अवस्थामा पुगेका हुन्थे । यसपछि मैनालीले आफूलाई आराम चाहिएकोले अर्को सचिव चुन्न प्रस्ताव राखें । त्यस प्रस्तावलाई सबैले स्वीकार गरे । बैठक बस्यो । बैठकमा सिपी, विरेन, नेत्र, नरेश खरेल, हर्क खड्कालगायतले ओलीलाई सचिव प्रस्ताव गरे ।
ओलीले सचिवको प्रस्ताव स्वीकार गरे । मैनालीका भनाईमा सचिव भएपछि उनले वैठक बोलाउन खासै पहल गरेनन । ओलीले बैठक नबोलाएपछि सिपी, हर्क, नरेश खरेलहरूले अगुवाई गरेर बैठक बोलाए । उनलाई उपस्थितिका लागि जानकारी दिन खोजियो । कहीँ पनि भेटिएनन् । ‘ओलीको अनुपस्थितिमै फागुन १६ र १७ गते बुधबारे होक्सेमा वैठक बस्यो । त्यही बैठकबाट सिपी झापा विद्रोहको तेस्रो सचिव बने’ आरके मैनालीको कथन छ ‘सायद ओली नै सचिव रहिरहेका हुन्थे भने कोअर्डिनेशन केन्द्र, मालेको संस्थापक महासचिव उनै हुन सक्थे ।’
सिपी तेस्रो सचिव निर्वाचित भएको साता नबित्दै तत्कालिन शासकहरूले रामनाथ, नेत्र, विरेनलगायतलाई जेल सार्ने बहानामा सुखानी जंगलमा पुर्याएर हत्या गर्यो । ओलीले ०२७ सालमा एसएलसी दिएका थिए । ०२८ सालमा नतिजा प्रकाशित भयो र उत्तीर्ण भए । यसपछि उनले केही समय चारपानेस्थित स्थानीय विद्यालयमा पढाए पनि । तर, तत्कालिन सत्ताले झापा बिद्रोहको सर्मथक भन्दै दमन गर्न थालेपछि शिक्षण पेशा त्यागेर रामनाथसँगै बिद्रोहको पक्षमा होमिएका थिए ।
०३० साल साउन २० गते राधाकृष्ण मैनाली, नरेश खरेल, हर्क खड्कालगायत झापा बिद्रोहका अगुवा नरियावाडीबाट पक्राउ परे । उनीहरू पक्राउ परेपछि झापा बिद्रोह चिलविल जस्तै भयो । यसपछि ओली आन्दोलनलाई कसरी मजबुत बनाउने भन्नेबारे बिद्रोहका एक योजनाकार मोहनचन्द्र अधिकारीसँग सल्लाह गर्न विराटनगर आए । विराटनगर आएपछि ओलीले अधिकारी भारतस्थित बनारस पुगेको पत्तो पाए । उनी पनि त्यतै लागे । बनारस पुगेर सोधखोज गर्दा ओलीले अधिकारी भारतकै कानपुरमा रहेको जानकारी पाए । यसपछि ओली अधिकारीलाई खोज्दै कानपुर नै पुगे । त्यहाँबाट अधिकारीलाई सम्झाई बुझाई लिएर नेपाल फर्किए । तर, फर्कने क्रममै अधिकारी र ओली ०३० साल मंसिरमा रौतहटमा पक्राउ परे । त्यसपछि ओली एकै पटक उनी ०४४ साल भदौमा जेलबाट रिहा भए ।
जेलबाट रिहा भएपछि पार्टीले उनलाई लुम्बिनी–गण्डकी क्षेत्रमा संगठन गर्न खटायो । लुम्बिनी–गण्डकीमा अहिले पनि ओलीको प्रभाव त्यसैको परिणाम हो । ०३५ साल पुसमा सिपी मैनाली, माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, इश्वर पोखरेलसहितले माले घोषणा गरेपछि जेलमा रहेका मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली र ओलीलाई पनि मालेका संस्थापक र केन्द्रीय सदस्यको मान्यता दिइएको थियो । सिपीले जेलमै चिठी पठाएर उनीहरूलाई यस कुराको जानकारी दिएका थिए ।
नेपाली राजनीतिमा सक्रिय रहेका समकालिन नेताहरूमध्ये गोलघरको यातना दिइएका नेता ओली मात्र हुन् । ओलीसँगै अधिकारी, मैनाली र यज्ञबहादुर थापा तथा भिमनारायण श्रेष्ठलाई तत्कालिन सत्ताले गोलघरमा राखेर यातना दिएको थियो । जसमध्ये थापा र श्रेष्ठको हत्या नै गर्यो । ओलीसँगै गोलघरको यातना खाने अधिकारी र मैनाली भने सक्रिय राजनीतिबाट किनारामा छन् ।
०४४ सालमा जेलबाट छुटेपछि पार्टीले नै पहलकदमी लिएर ०४५ सालमा ओलीको विवाह पाटनकी राधिका शाक्यसँग गरिदियो । ओली बाहिरबाट जति कट्टर देखिन्छन् भित्रबाट उनी उत्तिकै लोकतान्त्रिक छन् । किनकी ०३० साल मंसिरमा पक्राउ पर्नुअघि नै उनले व्यक्तिहत्याको राजनीति त्याग्नु पर्ने प्रस्ताव राखिसकेका थिए । जेलबाट पनि उनले निरन्तर यसै पक्षमा वकालत गरे । सायद ओलीकै प्रस्तावका कारण बिद्रोह सुरू गरेको दुई वर्ष पुग्दा नपुग्दै झापाली समूहले व्यक्तिहत्याको राजनीति परित्याग गर्यो । ०४७ सालमा प्रजातन्त्र उदाएपछि ओली एमालेले स्थापना गरेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष भए । ०४६ साल भदौमा भएको पार्टीको पाचौं महाधिवेशनदेखि नै उनी लोकतान्त्रिक प्रतिस्पर्धाको पक्षमा उभिए जसले गर्दा मदन भण्डारीलाई जनताको बहुदलीय जनवाद ल्याउन सहज भएको थियो ।
पार्टीको सातौं महाधिवेनमा ओलीले बहुपदीय पद्धतिको प्रस्ताव राखेका थिए । महासचिव माधव नेपाललगायत नेताले त्यसलाई स्वीकार गरेनन । यसपछि पार्टीलाई विभाजनबाट जोगाउने भन्दै ओलीले उक्त प्रस्ताव फिर्ता लिए । आठौं महाधिवशेनले उनले सातौमा राखेको प्रस्ताव नै पारित गर्यो । तर, ओली अध्यक्षको प्रतिस्पर्धामा झलनाथ खनालसँग पराजित भए । ओली एमालेभित्र माओवादीका खरो आलोचकमध्ये नेतामा पर्छन् । यद्यपि माओवादीलाई तह लगाउने नाममा कांग्रेसको पिछलग्गु बनेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । ओलीको सबैभन्दा सबल पक्ष के देखिन्छ भने उनले आफ्नो पछि लागेका नेता–कार्यकर्ताहरूको मजबुत संरक्षण गर्छन । त्यसैले पनि हुनसक्छ, उनलाई स्थायी गुटको राजनीति गरेको आरोप पनि लाग्छ ।

०७०/०७१ भने ओलीका लागि ‘भाग्यशाली’ वर्ष बनेको छ । ०७० मा भएको संविधानसभा निर्वाचनमा भारी मत ल्याएर ओली विजयी बने भने अध्यक्ष झलनाथ खनाललाई पराजित पर्दै संसदीय दलको नेता चुनिए । यता महाधिवेशनमा पनि माधव नेपालजस्ता सक्रिय नेतालाई पछि पार्दै अध्यक्ष निर्वाचित भएका छन् ।
ओलीलाई नजिकबाट नियालिरहेका विश्लेषकहरूका भनाईमा सुझबुझ र सावधानीपूर्वक निर्णय गरेनन् भने ओलीका लागि स्वास्थ्य र आनीबानी चुनौती बन्न सक्छ । तर, उनले सावधानीका साथ निर्णय गरेर चुनौती पार लगाउनेमा शुभचिन्तकहरू विस्वस्त छन् । जेलमा १४ वर्ष ओलीसँग संगत गरेका राधाकृष्ण मैनाली ओलीले सुझबुझपुर्ण निर्णय गरुन् भन्ने चाहन्छन् । ‘ओलीको ठूलो चुनौती भनेकै उनको स्वास्थ्य र आफ्ना कुरामा अडान राख्ने बानी हो,’ जेलमा ओली टिबी र अल्सरले सिकिस्त हुँदादिसापिसाव सोर्नेदेखि नुहाउनेसम्मको सहयोग गर्ने मैनाली भन्छन्, ‘यी दुई कुरालाई सन्तुलनमा राखेर व्यवहार गरे ओली सफल राजनीतिज्ञ बन्छन् ।’
No comments:
Post a Comment