Friday, July 18, 2014

'पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन, टिम स्पिरिट हो'


काठमाडौँ, साउन १

'कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि भन्ने सुविधा छैन'
एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूसँग लामो जीवन नभएको र कुनै पनि काम बिस्तारै गर्दै जाउँला भन्ने सुविधा नभएको बताएका छन्।
एमाले अध्यक्षका रुपमा चुनिएपछि पहिलोपटक एमाले मुख्यालय बल्खुमा सम्बोधन गर्दै ओली भने, ‘संभवतः कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु।

उनले आफ्नो स्वास्थ्यलाई लिएर भएका अनेकौं टिकाटिप्पणी आफूले सुनेको र स्वास्थ्यमा केही समस्या भएकामा सजग रहेको बताए। मेरो स्वास्थ्यस्थितिप्रति चिन्ता जाहेर गर्ने, स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा सहयोग गर्ने सबैप्रति म कृतज्ञ छु,’ उनले भने, ‘पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टी नेता म्याराथुन धावक पनि होइन। यो एउटा टिम स्पिरिट हो र पार्टी नेताले मूलतः वैचारिक, साङ्गठनिक र शैलीगत अगुवाइ गर्दै समग्र पार्टीलाई गतिशील बनाउने हो।
उनले केन्द्रीय कमिटीको नवनिर्वाचित टिम सामूहिक भावनाकासाथ सञ्चालन हुँदा देशैलाई जुरुक्क उचाल्न सामथ्र्यवान् रहेको बताए। म आफ्नो सम्पूर्ण सामथ्र्य, उर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास पुनः दोहोर्याउन चाहन्छु,’ उनले भने।
उनले गरेको सम्बोधनको पूर्ण पाठ
ओलीको मन्तव्यको पूर्णपाठ यस्तो छ
१. नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। सर्वप्रथम, महाधिवेशनबाट मलाई अध्यक्ष पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण प्रतिनिधि कमरेडहरूप्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछु।
पदाधिकारी, केन्द्रीय कमिटी सदस्य एवम् विभिन्न आयोगमा निर्वाचित हुनुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु। नवौं राष्ट्रिय महाधिवेशनलाई कुशलतापूर्वक सञ्चालन गर्नुहुने अध्यक्ष मण्डल र निर्वाचनको जटिल एवम् कष्टसाध्य प्रक्रियालाई सफलतापूर्वक एवम् विश्वसनीय र निष्पक्षढङ्गले सम्पन्न गर्नुहुने निर्वाचन आयोग तथा त्यसमा सहयोग पुर्‍याउने सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्दछु।
महाधिवेशनलाई व्यवस्थितढङ्गले सम्पन्न गर्न सहयोग पुर्‍याउने स्वयम्सेवक साथीहरू, सुरक्षाकर्मी मित्रहरू तथा महाधिवेशनका गतिविधिलाई व्यापक कभरेज गरेर जनतालाई सुसूचित गर्नुहुने सञ्चारकर्मी साथीहरू सबै धन्यवादका पात्र हुनुहुन्छ।
२. यस अवसरमा म पार्टीका आदरणीय संस्थापक महासचिव कमरेड पुष्पलाल, जबजका प्रणेता जननेता मदन भण्डारी तथा श्रद्धेय अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री कमरेड मनमोहन अधिकारीप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु। हामीले राष्ट्रिय राजनीतिमा हावी निरङ्कुश राजतन्त्र तथा कम्युनिष्ट आन्दोलनमा उत्पन्न दक्षिणपन्थी अवसरवाद, बिखण्डन तथा विभाजनमाथि हस्तक्षेप गर्न झापा विद्रोह सङ्गठित गरेका थियौं, जसको जगमाथि आधारित भएर पुनःगठित हुँदै आजको नेकपा (एमाले) बनेको छ।
यतिबेला म कमरेड रामनाथ दाहाललगायत ती श्रद्धेय सहिदहरूलाई सम्भि्कइरहेको छु, जसलाई तत्कालीन शासकहरूले हाम्रैबीचबाट खोसेर सुखानीमा लगी कायरतापूर्ण हत्या गरेका थिए। नेपाल राष्ट्रको निर्माण तथा रक्षाको सङ्घर्ष, सामाजिक मुक्ति र लोकतन्त्र प्राप्तीको आन्दोलन तथा जनवाद र समाजवाद स्थापनाको सुन्दर लक्षका खातिर जीवन अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु। मुलुकले अनावश्यक रूपमा बेहोर्नु परेको एक दशक लामो हिंसात्मक द्वन्द्व र त्यसक्रममा मारिएका निर्दोष नागरिकहरू एवम् द्वन्द्वपीडितहरूप्रति पनि म हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।
३. स्वस्थ प्रतिस्पर्धा लोकतन्त्रको एउटा जीवनअङ्ग हो। सकभर सहमति गर्ने, त्यसो हुन नसके जनता या जनताका प्रतिनिधिहरूको अभिमतबाट नीति र नेतृत्व चयन गर्ने लोकतन्त्रको मर्म नेकपा (एमाले)को सैद्धान्तिक मान्यताको अभिन्न अङ्ग बनेको छ। यही मान्यताभित्र रहेर नवौं महाधिवेशनमा हामीले नेतृत्व चयनका लागि प्रतिस्पर्धाको लोकतान्त्रिक विधि अवलम्बन गर्‍यौं। म यस प्रतिस्पर्धामा सहभागी कमरेड माधवकुमार नेपाल तथा अन्य कमरेडहरूप्रति हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु। यो पार्टीभित्रको, कमरेडकमरेडहरूबीचको प्रतिस्पर्धा हो र यसले एकतापहलकदमीप्रतिस्पर्धा र अझ उन्नतस्तरको एकताको मान्यता अबलम्बन गरेको छ भन्ने विश्वास म यहाँ व्यक्त गर्न चाहन्छु।
४. थुप्रै कमरेडहरूले नवौं राष्ट्रिय महाधिवेशनको क्रममा भएका विभिन्न गतिविधि र प्रतिस्पर्धालाई लिएर चिन्ता र चासो प्रकट गर्नुभएको छ। पार्टीको एकता, अग्रगति र भविष्यलाई लिएर प्रकट भएका यी चासोप्रति म निकै गम्भीर र संवेदनशील छु। नेकपा (एमाले)को काँधमा यतिबेला के कस्ता ऐतिहासिक अभिभाराहरू छन् र राष्ट्र तथा जनताले हामीबाट कस्तो अपेक्षा गरेका छन् भन्ने कुराप्रति हामीहरू एकदमै सजग छौं। शान्तिपूर्ण जनक्रान्तिका उपलब्धि संस्थागत गर्ने महाधिवेशनको प्राथमिक कार्यसूची र जबजको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प एकताबद्ध, सुदृढ र गतिशील नेकपा (एमाले)बाट मात्रै पूरा गर्न सकिन्छ भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। त्यसैले म सिङ्गो पार्टीको तर्फबाट उद्घोष गर्न चाहन्छुआजैका मितिदेखि पार्टीभित्र देखापरेका सबै विचार समूह, धु्रवीकरण र प्रतिस्पर्धाको चरण समाप्त भएको छ र पार्टी अझ उन्नतस्तरबाट एकताबद्ध भएको छ। लोकतन्त्र अभ्यास गर्दै र सिक्दै जाने (लर्निङ बाई डुइङ) प्रक्रिया हो। नवौं महाधिवेशनले हामीलाई पार्टी जीवनको लोकतान्त्रिकरणलाई अझ उन्नत बनाउन थुपै्रै सकारात्मक/नकारात्मक पाठ सिकाएको छ। प्रतिस्पर्धाको क्रममा प्रकट भएका सबै कमीकमजोरीको हामीले गम्भीर आत्मसमिक्षा गर्नेछौं र आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन ठोस व्यवस्था गर्नेछौं। स्वाभाविकै रूपमा, सहमतिका आधारमा नेतृत्व चयन हुनसकेको भए धेरै राम्रो हुन्थ्यो। त्यसका लागि प्रयत्नहरू पनि भए। तर विभिन्न कारणवश त्यसो हुन नसकेपछि हामीले प्रतिस्पर्धाका आधारमा नेतृत्व चयनको विकल्प चयन गर्‍यौं। हामी आफैले रोजेको यो विकल्पलाई नकारात्मकढङ्गले हेर्ने होइन, आत्मसमीक्षाका साथ अझ उन्नत बनाउने प्रयास हुने विश्वास म दिलाउन चाहन्छु।
५. यो पार्टी हाम्रा अनगिन्ती सहिदहरूको बलिदान, हजारौं योद्धाहरूको सौर्य र लाखौंलाख जनताको माया र विश्वासको समष्टिबाट निर्माण भएको हो। यसको अग्रगतिका लागि पार्टीका सबै कमरेडहरूको भावनात्मक एकता, सहयोग र सक्रियता अपरिहार्य छ। म निवर्तमान अध्यक्ष कमरेड झलनाथ खनालले विगत पाँच बर्षसम्म गर्नुभएको पार्टीको सफल नेतृत्वका लागि हार्दिक बधाई र धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनमा उहाँको निरन्तर अभिभावकीय भूमिकाको अपेक्षा गरेको छु। पार्टीमा लामो समयसम्म सक्रिय नेतृत्व गर्नुहुने कमरेड माधवकुमार नेपालको अनुभव र क्रियाशीलता पार्टीलाई अगाडि बढाउन अत्यन्त महत्वपूर्ण हुने विश्वासकासाथ निरन्तर सहयोगका लागि अनुरोध गर्दछु। हिजोसम्मको प्रतिस्पर्धाको अवस्थालाई बिर्सेर म सबै कमरेडहरूलाई उचित जिम्मेवारी दिन, टिम स्पि्ररिटका साथ पार्टी सञ्चालन गर्न र साँचो अर्थमा पार्टीमा सामूहिक नेतृत्व स्थापित गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु। कमरेडहरूबाट पनि मैले यस्तै रचनात्मक भूमिकाको अपेक्षा गरेको छु। प्रतिस्पर्धाका क्रममा कतिपय महत्वपूर्ण कमरेडहरू नेतृत्वमा समेटिनबाट छुट्नुभएको छ। नेतृत्वमा उहाँहरूको अभाव निकै खटि्कनेछ। पार्टी कामका नयाँ क्षेत्रहरूमा कमरेडहरूलाई समेट्ने प्रतिबद्धता कमरेडहरूसमक्ष व्यक्त गर्न चाहन्छु।
६. नवनिर्वाचित पार्टी नेतृत्वसामु सङ्क्रमणकालीन नेपाली राजनीतिलाई नयाँ संविधानमार्फत् निकास दिनैपर्ने राष्ट्रिय अभिभारा छ। राष्ट्रिय राजनीतिमा सहमति र सहकार्यलाई निरन्तरता दिंदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने अभिभारा रहेको छ। बुर्जुवा राजनीतिक शक्तिसँगको प्रतिस्पर्धामा नेकपा (एमाले) को श्रेष्ठता स्थापित गर्ने र आगामी निर्वाचनसम्म नेकपा (एमाले)लाई पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दायित्व छ। सर्वोपरी रूपमा, राजनीतिक क्रान्तिका उपलब्धिलाई संस्थागत गर्दै सामाजिकआर्थिक रूपान्तरण र समृद्ध नेपालको निर्माण गर्ने युगीन दायित्व छ। केन्द्रीय कमिटीको तर्फबाट म सङ्कल्प गर्दछुहामी मार्क्सवादलेनिनवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा (एमाले) बाट राष्ट्र, जनता, लाखौं पार्टी समर्थकशुभचिन्तकहरू र युगले गरेको अपेक्षा पूरा गर्न आफ्नो सम्पूर्ण सामर्थ्य लगाउनेछौं।
७. यस महाधिवेशनमा हामीले नेतृत्व हस्तान्तरणको प्रश्नलाई विशेष जोड दिएका छौं। कम्युनिष्ट आन्दोलनमा हावी हुँदै आएको अलोकतान्त्रिक परम्परा अर्थात् एकचोटी क्रान्ति गरेपछि कम्युुनिष्ट पार्टी सधैभरि सत्तामा रहिरहने र एकचोटी सर्वोच्च पदमा पुगेपछि नेताले कहिल्यै नेतृत्व हस्तान्तरण गर्न तयार नहुने परम्पराको पृष्ठभूमिमा जबजले कम्युनिष्ट पार्टीले आवधिक निर्वाचनमा प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरेर मात्रै सत्ता सञ्चालन गर्ने र पार्टी नेताहरूले पनि कार्यकर्ताहरूको विश्वास जित्नैपर्ने लोकतान्त्रिकरणको मान्यता विकास गरेको छ। नेतृत्व हस्तान्तरण जबजको यही मान्यताको एउटा अभिन्न अङ्ग हो। हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौंनेतृत्व हस्तान्तरणको यो बिषयलाई हामी पद्धतिका रूपमा स्थापित गर्नेछौं। नेतृत्वको योजनाबद्ध विकास गर्दै छिटोछिटो युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्दै लगिनेछ।
८. नेपाली कम्युनिष्ट आन्दोलनमा उत्पन्न दक्षिणपन्थी अवसरवाद तथा उग्रवामपन्थी भड्कावका पीडा र तिनले पुर्‍याएको क्षतिलाई हामीले बिर्सेका छैनौं। दश र बीसको दशकमा उत्पन्न दक्षिणपन्थी अवसरवादले नेपाली कम्युनिष्ट आन्दोलनलाई निरङ्कुश राजतन्त्रबिरुद्ध सशक्त प्रतिवाद गर्न नसक्ने गरी कमजोर, दिशाबिहीन र विभाजित बनायो भने ५० को दशकमा उत्पन्न उग्रवामपन्थी अराजकतावादले १७ हजार नेपालीको ज्यान लिंदै नेपालको लोकतन्त्र, शान्ति, विकास र स्थायित्वमा ठूलो आघात पुर्‍यायो। हामीले दुबैखाले अवसरवादविरुद्ध निरन्तर सङ्घर्ष गर्दै आएका छौं। यस क्रममा नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रतिपादन भएको छ र वितेका बीस बर्षका राजनीतिक घटनाक्रमलाई यसले मार्गदर्शन गरिरहेको छ। आगामी दिनमा पार्टीलाई यही वैचारिक कार्यदिशाका आधारमा अझ धारिलो र गतिशील बनाउँदै लगिनेछ।
९. विचारमा स्पष्ट, सङ्गठनमा सुदृढ, विधिमा दुरुस्त, नेतृत्वमा सशक्त र राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिकासहितको नेकपा (एमाले) हाम्रो परिकल्पना हो। आगामी दिनमा पार्टीलाई यही दिशामा अगाडि बढाउन हामीले सम्पूर्ण शक्ति लगाउनेछौं। आगामी माघभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्ने, सबै जातजाति, भाषाभाषी र संस्कृतिका जनताको पहिचान, आत्मसम्मान, समृद्धि र एकतालाई सुनिश्चित गर्ने गरी राज्यको पुनःसंरचना गर्ने, द्वन्द्वका घाउ मेटाएर समाजमा एकता, मेलमिलाप र सहकार्यको रक्तसञ्चार गर्ने तथा आर्थिक शोषण, सामाजिक उत्पीडन, सांस्कृतिक विभेद तथा कमजोर बन्दै गएको राष्ट्रियताको समस्या समाधान गर्दै छोटो समयभित्र मुुलुकलाई समृद्ध र समुन्नत बनाउने अभिभारा हाम्रो काँधमा छ। हामी संयुक्त सरकारमा छौं र यो समयको आवश्यकता र बाध्यता दुबै हो। संयुक्त सरकारलाई अझ प्रभावकारी, गतिशील र परिवर्तनको संयन्त्रको रूपमा विकास गर्न पार्टीले आगामी दिनमा थप सक्रिय भूमिका खेल्नेछ।
१०. यसबीच, मेरो स्वास्थ्यलाई लिएर अनेकौं टिकाटिप्पणी भएको मैले सुनेको छु। मेरो स्वास्थ्यस्थितिप्रति चिन्ता जाहेर गर्ने, स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा सहयोग गर्ने सबैप्रति म कृतज्ञ छु। स्वास्थ्यमा केही समस्याहरू छन् भन्ने कुराप्रति म सजग छु र यसप्रति यहाँहरूको चासोप्रति म संवेदनशील छु। पार्टी सञ्चालन म्याराथुन प्रतियोगिता होइन र पार्टी नेता म्याराथुन धावक पनि होइन। यो एउटा टिम स्पि्ररिट हो र पार्टी नेताले मूलतः वैचारिक, साङ्गठनिक र शैलीगत अगुवाई गर्दै समग्र पार्टीलाई गतिशील बनाउने हो। केन्द्रीय कमिटीको यो सक्षम टिम सामूहिक भावनाकासाथ सञ्चालन हुँदा देशैलाई जुरुक्क उचाल्न सामथ्यवान् छ भन्नेमा म पूर्ण विश्वस्त छु। संभवतः कमरेडहरूको जत्तिको लामो जीवन मेरासामु छैन, त्यसैले मलाई कुनै पनि काम बिस्तारै गर्दै जाऔंला नि त भन्ने सुविधा छैन भन्ने तथ्यप्रति म सजग छु। त्यसैले, म आफ्नो सम्पूर्ण सामर्थ्य, उर्जा र विवेक पार्टी, जनता, देश र मानवताप्रति समर्पित गर्ने विश्वास पुनः दोहोर्‍याउन चाहन्छु। अन्त्यमा पुनः एकपल्ट नवौं राष्ट्रिय महाधिवेशनलाई भव्यतापूर्वक र ऐतिहासिक महत्वका साथ सम्पन्न गर्न सघाउनुहुने सबैप्रति धन्यवाद र हामीलाई नेतृत्वमा चयन गर्नुहुने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद!
१ साउन २०७१ 

प्रकाशित मिति: बिहिबार, श्रावण १, २०७१ १८:५१:२३

No comments:

Post a Comment

Featured Post

होली !

मिति २०७२ चैत ९ गते सिमकोट  आज सबले मनाए रे, रङ्गे पर्व होली तिमले पनि बिर्सीएछेउ, सम्बन्धको झोली लडो बढ्यो देउता छोड्यो, उखान गर्थे ...